काठमाडौं– वीर गणेशमान सिंह टेनके रोड रेस आउँदो चैत ७ मा हुने भएको छ। गणेशमान सिंह स्पोर्टस् कमिटीले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो।
दरबारमार्गबाट सुरु हुने रोड रेस रत्नपार्क, भद्रकाली, सहिद गेट, वीर अस्पताल, जमल, केशरमहल, महाराजगन्ज, बालुवाटार, टंगाल, नागपोखरी हुँदै पुनः दरबारमार्गमा पुगेर समापन हुनेछ।
प्रतियोगिताको महिला तथा पुरुषतर्फका विजेताले समान ६० हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। यसैगरी दोस्रो र तेस्रो हुनेले क्रमशः ३० र १५ हजार प्राप्त गर्नेछन्। साथै चौथोले १० हजार र पाँचौं हुनेले पाँच हजार नगद पुरस्कार पाउने छन् ।
प्रतियोगितामा छैटौंदेखि १० औं स्थान हात पार्नेले चार हजार बराबरको गिफ्ट ह्याम्पर पाउने छन्। प्रतियोगिता सञ्चालन गर्न करिब १२ लाख रुपैयाँ खर्च हुने आयोजकले जानकारी दिएको छ।
गत वर्षको रोड रेसको पुरुषतर्फको उपाधि एपीएफका गोपीचन्द्र पार्की र महिलातर्फको उपाधि सन्तोषी श्रेष्ठले जितकी थिइन्।
रुट्स फेसन प्रालि (एडिडास) को प्रायोजनमा हुन लागेको दौडको अनुमानित बजेट करिब १२ लाख रुपैयाँ छ। रुट्सका राजीव श्रेष्ठले नेपाली खेलकुदको विकासमा टेवा पुर्याउने उद्देश्यले प्रायोजन गरिएको बताए।
कोर्ष रेकर्ड ब्रेक गर्ने पुरुष–महिला खेलाडीलाई जनही १० हजार नगदबाट पुरस्कृत गरिने छ। गोपीचन्द्र पार्कीको नाममा ३२ मिनेट ०१.२ सेकेन्ड तथा सन्तोषी श्रेष्ठको नाममा ३९ मिनेट १०.९८ सेकेन्डको कोर्ष रेकर्ड रहेको छ। नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेताद्वय पहिलो संस्करणका विजेता पनि हुन्।
पत्रकार सम्मेलनमा संयोजक तुलाधरले आगामी वैशाखमा कमिटीले राष्ट्रिय फेन्सिङ प्रतियोगिता पनि आयोजना गर्न लागेको अवगत गराए।