काठमाडौं - सरकारले आउँदो वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा गते निर्वाचन गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
पुस ५ मा प्रतिनिधिसभाको विघटन गरेलगत्तै सरकारले वैशाख १७ र २७ मा निर्वाचन गर्ने निर्णय गरेको थियो।
सरकारको सिफारिसमा सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन सदर गर्दै निर्वाचनको मिति तोकेकी थिइन्।
वैशाख १७ गते कर्णाली, लुम्बिनी र प्रदेश २ का ४० जिल्ला र वैशाख २७ गते दोस्रो चरणमा सुदूरपश्चिम, बागमती र प्रदेश १ का ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको हो।
संसद् विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ। तर, आयोगले तयारी तीव्र पारेको छ।
नेकपाकै दाहाल–नेपाल समूह प्रतिनिधिसभा विघटनविरुद्ध सडक आन्दोलनमा छ।
राजनीतिकरूपमा नै विभाजित बनेको नेकपाको विवाद टुंगोमा पुगिसकेको छैन।
सर्वोच्चको फैसला नआईकनै सरकारले भने तोकिएको समयमा नै निर्वाचन हुने दाबी गरिरहेको छ।