बुटवल - नेकपा दाहाल-नेपाल समूहले लुम्बिनी प्रदेशका तीन जिल्ला अध्यक्षमा जिम्मेवारी हेरफेर गर्ने भएको छ।
ओली समूहका नेताहरूलाई जिम्मेवारीबाट हटाएपछि आफ्ना पक्षका नेतालाई जिम्मेवारी दिने तयारी दाहाल-नेपाल समूहले गरेको हो।
लुम्बिनीका रुपन्देही अध्यक्षमा राजु गुरुङ, कपिलवस्तु अध्यक्षमा प्रदेशसभा सदस्य विष्णु पन्थी र गुल्मी जिल्ला अध्यक्षमा रोमनाथ सापकोटालाई प्रदेशले केन्द्रीय कमिटिलाई अनुमोदनका लागि सिफारिस गरेको प्रदेश कमिटी सचिव जगप्रसाद शर्माले जानकारी दिए।
रुपन्देहीमा जिल्ला अध्यक्ष शिवराज सुवेदी ओली समूहमा लागेपछि दाहाल–नेपाल समूहले पूर्वएमालेकै गुरुङलाई अध्यक्षका रूपमा अघि सारेको हो।
यसैगरी कपिलवस्तु जिल्ला अध्यक्ष झविलाल पोखरेल ओली समूहमा लागेपछि दाहाल–नेपालले प्रदेश सांसद विष्णु पन्थीलाई जिल्ला अध्यक्षका रूपमा अघि सारेको प्रदेश कमिटिले जनाएको छ।
प्रदेशका नवलपरासी, प्यूठान, अर्घाखाँची र पाल्पामा भने अध्यक्ष सिफारिस गर्न बाँकी रहेको सचिव शर्माले जानकारी दिए।
अन्य जिल्लामा भने दाहाल-नेपाल समूहकै जिल्ला अध्यक्ष रहेको दाबी गरिएको छ।