पोखरा– हिउँद याममा दोस्रो सर्वोच्च शिखर केटु हिमालको आरोहरण गरेर कीर्तिमानी राख्न सफल १० नेपाली पर्वतारोहीको टोलीलाई सोमबार पोखरामा नागरिक अभिनन्दन गरिएको छ।
टोलीलाई पोखरा विमानस्थलमा पर्यटन व्यवसायी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिले बाजागाजासहित स्वागत गरेका हुन्।
आरोहीलाई विमानस्थलबाट पृथ्वीचोक, नयाँबजार, न्युरोड, सिर्जनाचोक हल्लनचोक घुमाएर माउन्ट कैलाश रिसोर्टमा पु¥याइएको थियो।
केटु हिमाल आरोही दलका निर्मल पुर्जाले ‘मभन्दा माथि उठेर हामी’ भन्ने भावना राख्न सके जुनसुकै कुरामा पनि सफलता हासिल गर्न सकिने बताए।
‘मैले चाहेको भए पहिलो पाइला चुचुरोमा राख्न सक्थें, तर मैले त्यो स्वार्थ त्यागें, हामी बीचमा भेट भयौं र सामूहिक भावना लिएर सँगै चुचुरोमा पाइला राख्ने निधो ग¥यौं, यसले मबाट माथि उठाएर हामी भन्ने भावनामा पु¥यायो।’
उनले हिमाल चढ्दा भोगेको कठीन तर उत्साही अनुभव सुनाएका थिए।
पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले सामूहिक भावनामा विश्वास गरे सफल हुन सकिन्छ भन्ने सन्देश विश्वकीर्तिमानी आरोहीहरुले दिन सफल भएको बताए।
उनले हिमाल आरोहीले सच्चा नेपालीको पहिचान र परिचयलाई विश्वको इतिहासमा लेखाउन सफल भएको जनाउँदै सबै नेपालीले गर्व गरेको भनाइ राखे।
कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले आरोहीहरुको आँट साहस र सामूहिक भावनाले देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सफल भएको धारणा राखे।
उनले यस्ता गतिविधिले नेपालको पर्वतीय पर्यटनलाई विश्व बजारमा पु¥याउन सफल हुने र पर्यटकीय गतिविधि बढ्ने विश्वास व्यक्त गरे
पोखरा पर्यटन परिषदका पूर्वअध्यक्ष गणेशबहादुर भट्टराईले विश्वमा नेपाल हिमालले चिनिएको देश भएकाले निकै जोखिम मानिने केटु हिमालको सफल आरोहरणले नेपालको पर्वतीय पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे।
उनले नेपाली एकअर्कालाई साथ र सहयोग गरेर जुट्न सक्छन् र एउटै उद्देश्यमा गोलबद्ध भएर लक्ष्य हासिल गर्न सक्छन भन्ने सन्देश आरोहीले दिन सफल भएको बताए।
कार्यक्रमका संयोजक ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्ल अध्यक्ष सुशीलराज पौडेलले ‘किलर माउन्टेन’ भनेर चिनिने केटु हिमालको आरोहरणले नेपालको नामलाई विश्वमा चिनाउन सफल भएको बताए।
सगरमाथा उचाइ मापन आरोहणदलका संयोजक खिमलाल गौतमले हिमाल चढ्नु आफैंमा कठिन कार्य र त्यसमाथि हिउँदको समयमा केटु हिमाल आरोहरण गर्नु भनेको मृत्युसँग जिस्कन पुगेजस्तै भएको बताए।
‘हिउँदमा हिमाल चढेर इतिहास लेखाउन धेरैले चाहेका थिए, त्यसमा नेपाली नै सफल भए यो निकै गर्विलो पल हो,’ गौतमले भने।
प्यासिफिक एसिया ट्राभल एसोसिएसिन इन्टरनेसनल (पाटा) का महासचिव सुमन पाण्डेले आरोहीले नेपाली हर कुनै कार्यमा सफल हुन सक्छन् भन्ने सन्देश विश्वमा दिन सफल भएको बताए।
कोभिड– १९ को कारणले शिथिल बनेको अवस्थामा किर्तिमानी आरोहीको नागरिक अभिनन्दनले पोखरा सुरक्षित छ भन्ने सन्देशसमेत दिएको उनको भनाइ थियो।
पोखरा पर्यटन परिषदका अध्यक्ष गोपिबहादुर भट्टराईले विश्वमाझ नेपाललाई चिनाउन सफल कीर्तिमानी आरोहीको साहसिक कदम र सामूहिक भावनाले नेपालीको शिरलाई निकै उँचो बनाएको बताए।
उनले देशले यस्ता ‘आइकन’ लाई उच्च सम्मान गर्न जरुरी रहेको बताए।
नेपाल पर्वतारोहरण संघ गण्डकी प्रदेशको आयोजनामा गरिएको धम्पुस पिक आरोहण गर्ने ६ जनालाई पनि उक्त अवसरमा सम्मान गरिएको छ।
टासी पासाङ, मन गुरुङ, सनकुमार जुग्जाली, दिपेशबाबु सुवेदी, सुदिप गौतम र हिराकुमारी मल्ललाई उक्त अवसरमा सम्मान गरिएको थियो।
सगरमाथा उचाइ मापनका संयोजक खिमलाल गौतम र पाटाका महासचिव सुमन पाण्डेलाई पनि उक्त अवसरमा सम्मान गरिएको छ।
पाकिस्तानमा रहेको केटु हिमाल (८६११ मिटर) नेपालका १० जना पर्वतारोहीले हिउँदको समयमा माघ ३ गते आरोहरण गरेर इतिहास रचेका थिए।
हिमाल आरोहरण गर्ने निर्मल पुर्जाको आरोहरण दलका नेपालीहरु मिङमा डेबिट शेर्पा, मिङमा तेन्जी शेर्पा, ग्याल्जेन शेर्पा, पेम चिरी शेर्पा र दावा तेम्बा शेर्पा र अर्को आरोहण दलमा मिङमा जी शेर्पा, दावा तेञ्जिङ शेर्पा, किलु पेम्बा शेर्पा छन् भने सेभेन समिट नामको आरोहरणबाट सोना शेर्पाले आरोहरण गरेका थिए।