विराटनगर- राजनीतिक दलका विशिष्ट व्यक्ति तथा संघीय सरकारका मन्त्रीहरु विराटनगर विमानस्थलमा आउने खबरसँगै कार्यकर्ताको भीड बढ्न सुरु हुन्छ।
अनावश्यक भीड बढ्दा विमानस्थल प्रहरीलाई समस्या हुने गरेको छ। विमानबाट ओर्लिनेबित्तिकै नेता, मन्त्रीलाई छेउमै पुगेर पुलको गुच्छा दिने, खादा लगाउनेको भीड विमानस्थलमा देखिन्छ। नजिकबाट भेट गर्न स्वागत गर्नेहरुमै ठेलमठेलका घटनाहरु विमानस्थलमा देखिन्छ।
एउटै विमानबाट एकभन्दा बढी विशिष्ट व्यक्ति र फरक दलका नेता आउने–जाने दिन झन बढी भिड विमानस्थलमा लाग्ने गरेको छ। विमानस्थलमा अनावस्यक भीड बढ्न थालेपछि यसलाई नियन्त्रण गरिने भएको छ।
विमानस्थलभित्र हुने भीडभाड नियन्त्रण गर्न पहिलेदेखि नै आवाज उठ्दै आए पनि अहिले पछिल्लो राजनीतिक घटनाक्रमका कारण भीड नियन्त्रणका लागि नागरिक उड्ययन प्राधिकरण बढी सक्रिय भएको छ। दलहरुबीच बढ्दै गएको असमझदारीका कारण विमानस्थलमा सुरक्षा चुनौती देखिएकाले विमानस्थलभित्र अनावश्यक भीड नियन्त्रणमा विमानस्थल प्रशासनले चासो देखाएको हो।
विमानस्थलमा विशिष्ट व्यक्तिको स्वागतमा जाने जोकोहीलाई भित्र प्रवेशमा कडाइ गर्न लागिएको हो। २०७१ साउन ५ गतेको राजपत्र र ०७६ वैशाख १६ को परिपत्रले विमानस्थलमा विशिष्ट व्यक्तिको स्वागतको लागि ५ जना मात्र जान मिल्ने भनी उल्लेख भएको नागरिक उड्ययन प्राधिकरण विराटनगरका प्रमुख उत्सव खरेलले बताए।
राजपत्रमा उल्लेख व्यवस्थालाई अब कडाइका साथ कार्यान्वयन गरिने उनले बताए। मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले विशिष्ट व्यक्तिको पहिचानमा समस्या भएपछि कडाई गर्न लागिएको वताए। स्वागतका लागि भन्दा पनि सेल्फी खिच्न विमानस्थलभित्र प्रवेश गर्ने गरेको पाइएको उनले बताए। स्वागतको लागि धेरैजना भिआईपी कक्षमा जाँदा न्याय गर्न नसकेको जस्तो देखिएकाले त्यसको लागि दलहरुले सहयोग गर्नुपर्ने बताए।
नेकपा (दाहाल–नेपाल) समूहका केन्द्रीय सदस्य महेश रेग्मी केन्द्रीय नेताहरुले नै भिआईपीमा स्वागतको लागि भीड खोज्ने गरेको बताए। उनले भने, ‘कतिपय नेताहरु आफैँ आउँदै छु भन्छन्, कतिपय कार्यकर्ताहरु नेताको आसपास पुग्दा सुबिधा पाईन्छ भन्ने लोभमा देखिन्छन्, गेटमा नै रोक्ने हो भने समस्या समाधान हुन्छ।’ सबै दलमा कार्यकर्ता चिढ्याउनु हुन्न भन्ने कारणले भीड बढेको उनको ठहर छ। प्रशासनले गरेको कडाइलाई दलहरुले पनि सहयोग गरेर कार्यान्वयनमा जानु पर्ने रेग्मीको भनाइ छ।
नेकपा (ओली) समूहका केन्द्रीय सदस्य तथा मोरंग अध्यक्ष ऋषिकेश पोखरेललले निर्धारित मापदण्ड भित्रै स्वागतको लागि कार्यकर्ता जाने गरेको बताए। उनले भने, ‘कहिलेकाँही बढी हुनसक्छ।’ नेपाली कांग्रेसका मोरङ सचिव मोदराज घिमिरेले कार्यकर्ता बढी भएका कारण कतिपय अवस्थामा प्रहरीसँग झगडा नै गर्नुपर्ने अवस्था हुने गरेको बताए। उनले भने, ‘सबै दलले कडाइका साथ कार्यान्वयनमा गए नेपाली कांग्रेस पनि विमानस्थलमा कार्यकर्ता नल्याउन सहमत छ।’ घिमिरेले कार्यकर्ता आएको अवस्थामा बाहिरै बस्ने प्रतीक्षालयको व्यवस्थापन गर्न सुझाव दिए।
जनता समाजवादी पार्टीका अध्यक्ष राजकुमार यादवले ठूला राजनीतिक दलका कारण भीड हुने गरेको बताए।