जनकपुरधाम– प्रदेश २ प्राथमिकता बाहिरका व्यक्तिले पनि कोरोनाविरुद्धको खोप लगाएका छन्।
सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिएका व्यक्ति, सफाइकर्मी, सुरक्षाकर्मी, स्वयंसेवक, वृद्धाश्रममा रहेका व्यक्ति र कर्मचारी, जेलमा खटिएका सुरक्षाकर्मी तथा कैदीलाई कोरोनाविरुद्धको खोप लगाउने प्राथमिकता तोकेको थियो।
तर प्रदेशमा राजनीतिक दलका नेता, शिक्षक र व्यापारीले पनि खोप लगाएको पाइएको छ।
हुन त प्रदेशमा पहिलो खोप प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले लगाएर मापदण्ड उल्लंघन गरेका थिए।
जनकपुरधामस्थित प्रादेशिक अस्पतालको खोप केन्द्रमा सुनचाँदी व्यवसायी पवन ठाकुर र बलराम साहले खोप लगाएका छन्।
सुनचाँदी व्यवसायी ठाकुरले आफू जानकी वृद्धाश्रमको उपाध्यक्ष रहेकाले खोप लगाएको बताए। उनका अनुसार वृद्धाश्रमका ११ जना पदाधिकारीले खोप लगाएका छन्।
सुनचाँदी व्यवसायी बलराम साहले जिल्ला स्वास्थ्य कार्यालयको खोप केन्द्रबाट खोप लगाएको बताए।
महोत्तरीको बर्दिबास अस्पतालको खोप केन्द्रमा पनि मापदण्डबाहिरका व्यक्तिले खोप लगाएको पाइएको छ।
बर्दिवास अस्पतालको खोप केन्द्रमा श्री त्रिभुवन माध्यमिक विद्यालयका शिक्षक धर्मेन्द्र महतोले खोप लगाएको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।
प्रदेश २ का स्वास्थ्य निर्देशक विजय झाले केही ठाउँमा मापदण्डबाहिरका व्यक्तिले पनि खोप लगाएको स्वीकार गरे।
उनले भने, ‘स्वास्थ्यकर्मीका लागि ल्याइएकोे खोप व्यापारी, शिक्षक लगायतका अन्य व्यक्तिले लगाउनु दुःखद हो।’
स्वास्थ्यकर्मी नै तर्सिए कोरोना खोपबाट
प्रदेश २ मा पहिलो चरणमा २५ हजार ६ सय ३७ जनाले खोप लगाएका छन्। ३४ हजार ८०७ जनालाई कोभिडसिल्ड खोप लगाउने लक्ष्य थियो।
निर्देशक झाले प्रदेशमा लक्ष्य लिएको मध्ये ७४ प्रतिशतले मात्रै खोप लगाएको जानकारी दिए। स्वास्थ्यकर्मी र चिकित्सक डराएका कारण लक्ष्यभन्दा कमले खोप लगाएको उनको भनाइ छ।
उनले भने, ‘खोप एकदमै सुरक्षित थियो तर स्वास्थ्य पेसामा संलग्न व्यत्ति नै कोरोना खोपलाई लिएर डराएका कारण लक्ष्यअनुसार खोप लगाउन सकिएन।’
पहिलो चरणको कोरोनाविरुद्धको खोप लगाउने कार्य सम्पन्न भइसकेको छ। काठमाडौंमा भने दोस्रो चरणको कोरोनाविरुद्धको खोप लगाउने अभियान सरु भइसकेको छ।
यस्ताे छ प्राथमिकता
