काठमाडौं– कोभिड– १९ को महामारीका बेला पनि अधिकांश बैंकहरुले नाफामा वृद्धि गरेका छन्। कतिपय बैंकहरुको नाफमा वृद्धि स्वभाविक देखिन्छ भने केहीले राष्ट्र बैंकले दिएको छुटको फाइदा उठाउँदै नाफा वृद्धि भएको देखाएका छन्।
कोभिड– १९ महामारीको प्रभावबाट बैंंक र व्यवसायी दुबै उम्किन सकुन् भनेर नेपाल राष्ट्र बैंकले गत पुस मसान्तसम्मका लागि खराव कर्जालाई पनि असलमा गणना गर्ने सहुलियत बैंकहरुलाई दिएको थियो।
यही प्रावधानको फाइदा उठाउँदै केही बैंकले नाफामा वृद्धि देखाउनकै लागि खराब कर्जालाई पनि असल कर्जामा गणना गरेका छन्। यसरी गणना गरिनु सोझै नियमविपरित नहुने भए पनि खराब कर्जाको प्रोभजनिङ नहुँदा अर्को वर्ष कर्जा उठेन भने बैंक घाटामा जाने सम्भावना हुन्छ।
प्रभु र ग्लोबल आइएमई बैंक आफैले जारी गरेको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार उनीहरुले गत वर्षको पहिलो ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा क्रमशः ३९.८७ प्रतिशत र ३७.३२ प्रतिशतले खुद नाफामा वृद्धि गरेका छन्।
यी दुबै बैंकको व्यापारको अवस्था हेर्ने हो भने त्यत्तिधेरै नाफा कमाउने सक्ने देखिंदैन।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार प्रभु बैंकले आफूसँग भएको तरलताको जम्मा ६६.७७ र ग्लोबल आइएमई बैंकले ७४.०३ प्रतिशतले मात्र लगानी गरेका छन्। जककि, राष्ट्र बैंकले कोभिड १९ का कारण व्यवसायीलाई थप चालु रकम चाहिन सक्ने भन्दै सीसीडी रेसियो (निक्षेप कर्जा अनुपात) ८५ पु¥याउन सक्ने सुविधा दिएको छ।
यसरी हेर्दा प्रभु बैंकसँग थप १८.२३ प्रतिशत र ग्लोबल आइएमई बैंकसँग १०.९७ प्रतिशत लगानी गर्न सक्ने क्षमता छ ।
अर्कोतर्फ निक्षेप धेरै भई उनीहरुको ‘कष्ट अफ फन्ड’ बढी हुँदा नाफामा चाप पर्ने हुन्छ। त्यसैले यी बैंकहरुले खराब कर्जालाई पनि असल कर्जामा गणना गरी नाफामा बृद्धि गरेको देखिन्छ।
बैंकर परशुराम क्षेत्री राष्ट्र बैंंकले अप्ठ्यारो अवस्थामा ऋणी र बैंक दुबैलाई फाइदा होस् भनेर सुविधा दिएको भए पनि संस्थागत सुशासनका लागि बैंकहरुले राष्ट्र बैंकले तोकेभन्दा बढी रकम प्रोभिजनिङ गर्न सक्ने बताउँछन। उनी भन्छन्, ‘अहिले नाफा देखाएका बैंंकहरुको कर्जा उठेन भने उनीहरु घाटामा जाने सम्भावना हुन्छ।’ यद्यपि, नेपालमा बैंकहरुको अवस्था राम्रै भएकोले टाट पल्टने सम्भावना भने नरहेको उनको भनाई छ।
अर्का बैंकर एवम् चार्टर्ड अकाउन्टेन्ट अनलराज भट्टराईले बैंकहरुले प्रुडेन्ट (विवेकपूर्ण) बैंंकिङ गर्ने हो भने खराब कर्जालाई खराब बर्गमै देखाउनु पर्ने बताउँछन्। । उनी भन्छन्, ‘संस्थागत सुशासन कायम राख्न आवश्क प्रोभिजनिङ गरेर मात्र बाँकी रकम नाफा देखाउनु पर्छ।’
यद्यपि कतिपय बैंकहरुले चाहिनेभन्दा बढी प्रोभिजनिङ गरेर नाफा लुकाई कर छलेको समेत उनको आरोप छ।
एक बैंकरका अनुसार पु्रडेन्ड बैंकिङ नगरी राष्ट्र बैंकले दिएको सहुलियत हदैसम्म उपयोग गर्दा पछि खराब कर्जा थपिने र प्रोभिजनिङ (नोक्सानी व्यवस्थापन) शतप्रतिशत बढ्ने अवस्था आउन सक्छ। त्यस्तो बेला बैंकको नाफामा ह्वात्तै कमी आउँछ। पछि लगानीकर्तालाई नाफा अनुसारको लाभांस दिन नसक्ने अवस्था पनि आउन सक्ने ती बैंकरको दावी छ ।
राष्ट्र बैंकले असल कर्जामा १ प्रतिशत, सुक्ष्म निगरानीमा ५ प्रतिशत, कमसलमा २५ प्रतिशत, शंकास्पदमा ५० प्रतिशत र खराबमा सत् प्रतिशत नोक्सानी ब्यवस्थापन गर्नु पर्ने व्यवस्था गरेको छ। सोही अनुसार बैंकहरुले आफ्नो कर्जाको जोखिम हेरेर नोक्सानी व्यवस्थापनका लागि आफ्नो नाफाबाट एक प्रतिशत देखि शत प्रतिशत प्रोभिजनिङ गर्नुपर्ने हुन्छ।
तर कोभिड –१९ का कारण केन्द्रीय बैंकले पुस मसान्तसम्मा खराब कर्जामा परिणत भएका कर्जाहरुलाई पनि असलमै राखेर ५ प्रतिशत प्रोभिजनिङ गरे पुग्ने व्यवस्था गरेको थियो ।
राष्ट्र बैंकले अहिले सबै बैंक तथा वित्तीय संस्थासँग कोभिड प्रभावित कुन–कुन ऋणीले पुनर्संरचना र
पुनर्तालिकीकरणका लागि कति समसय माग गरे भन्ने विवरण माग गरेको छ। ऋणीका लागि यस्तो सुविधा पुस मसान्तभित्र लिइसक्नु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको थियो।
यसबीचमा खराब कर्जालाई खराबमै राखेर वित्तीय विवरण सार्वजनिक गरेका बैंकहरुमा अहिले नाफामा कमी देखिए पनि कर्जा उठ्यो भने नाफामा धेरै बृद्धि हुन सक्छ ।
प्रुडेन्ट बैकिङले नाफामा कमी देखिए पनि बलियो बनाउँछ
यो अवधिमा हिमालयन, नेपाल एसबीआई, एभरेष्ट र सानिमा बैंकको चालु आर्थिक बर्षको ६ महिनाको नाफा गत वर्षको सोही अवधिको तुलनामा ६.२ं५९, ३६.५९, ७.३८ र ४८.८२ प्रतिशतले कमी आएको वित्तीय विवरण सार्वजनिक गरेका छन्।
ती बैंकहरुले कोभिड १९ का कारण खराव भएका कर्जाको पनि शत प्रतिशत प्रोभिजनिङ गरेका कारण नाफामा कम भए पनि बैंक आन्तरिक रुपमा बलियो भएको जानकारहरु बताउँछन् ।
व्यवसाय विस्तार गरेरै नाफा कमाए ७ बैंकले
वित्तीय विवरण अनुससार ७ वाणिज्य बैंकले भने व्यवसाय विस्तार गरेरै नाफा बढाएका छन्।
मेगा बैंकले चालू आर्थिक वर्षको ६ महिनामा आफूसँग भएको निक्षेपको ८२.८९ प्रतिशत, एनएमबी बैंकले ८१.९७ प्रतिशत, कुमारी बैंकले ७६.१५ प्रतिशत, प्राइम कमर्सियल बैंकले ८१.३९ प्रतिशत, सिटिजन्स इन्टरनेशनल बैंकले ७४.३ प्रतिशत, नेपाल बांग्लादेश बैंकले ७१.२८ प्रतिशत र एनआइसी एसिया बैंकले ७४.७३ प्रतिशत लगानी गरी व्यापार बढाएका छन्।
ती बैंकहरुले चालू आर्थिक वर्षको ६ महिनामा क्रमशः ३७.२८, ४८.७६, ५१.५, ३९.४, २७ , १७ र २ प्रतिशतले नाफा कमाएका छन् ।
थप १० प्रतिशत लगानी गर्ने क्षमता
कोभिड १९ का कारण केही समय लगानी गर्न नसके पनि पछिल्लो समयमा लगानीमा आक्रामक बनेका वाणिज्य बैंकहरुसँग अझै १०.६९ प्रतिशत रकम थप लगानी गर्न सक्ने क्षमता छ।
गत पुसमा मात्र वाणिज्य बैंकहरुले १ खर्ब ४३ अर्ब रुपैयाँ लगानी गरेका थिए । गत वर्षको सोही अवधिको तुलनामा पुस महिनामा मात्र वाणिज्य बैंकहरुले १ खर्ब २७ अर्ब रुपैयाँ बढी लगानी गरेका छन्। कोभिड १९ का कारण व्यापार व्यवसाय ठप्प हुदा कर्जा प्रवाहमा मन्दी आएको र निक्षेपमा कमी नआउँदा वाणिज्य बैंकहरुले कर्जा प्रबाह गर्न सकेका थिएनन्।
वाणिज्य बैंकहरुसँग हाल ३७ खर्ब ८१ अर्ब रुपैयाँ बराबरको निक्षेप छ जसमध्ये ७४.३१ प्रतिशत उनीहरुले कर्जा प्रवाह गरेका छन्।