पर्सा- नेपाली कांग्रेसका नेता गगन थापाले हिजो मधेशको नाम भजाउनेहरु अहिले चोखिन नपाउने बताएका छन्।
मुलुकका ७ प्रदेशमध्ये एक्लो सत्तामा रहेको प्रदेश २ को सरकारले ६ वटै प्रदेशभन्दा बढी भ्रष्टचार गरेको नेता थापाको आरोप छ। वीरगंज महानगरपालिका वडा नम्बर २८ बगहीले आयोजना गरेको बृहत् आमसभामा थापाले प्रदेश सरकारले जनताका अधारभूत आवश्यकता पुरा नगरी टोलटोलमा गेट बनाएर उपभोक्ता समितिको नाममा करोडौँ रुपैयाँ कुम्ल्याइरहेको आरोप लगाए।
थापाले भने, ‘मधेशका मसिहाको एउटै काम उठो मधेश जागो मधेश, उसके नाममे लुटेङ्गे देश, भयो।’ मधेशको मसिहा भन्नेले सत्ताको लोभमा प्रधानमन्त्री ओलीलाई दुई तिहाईको बहुमत दिएर संसद विघटन गर्ने हिम्मत प्रदान गरेको बताए।
यसको मुख्य दोषी मधेशका मसिहा बताउनेदेखि अहिलेका नेकपा दाहाल–नेपाल रहेको आरोप लगाए। ‘हिजो कांग्रेसले सांसद विघटन गरेर गल्ती गरेकै हो तर त्योभन्दा ठूलो गल्ती दुईतिहाईको सरकारको दुहाई दिने ओलीले गरेका छन्।’ थापाले भने।
कार्यक्रममा थापाले भने, ‘संसारभरकै कुरा गर्ने हो भने, कतै पनि कम्युनिष्टको सरकार छैन, कम्युनिष्टहरु जनता गरिब रहिरहुन् र उनीहरुमाथि शासन गर्न पाइरहुँ भन्ने चाहन्छन्।’
थापाले प्रधानमन्त्रीले मधेशको अपमान गरेको आरोप लगाए। थापाले प्रधानमन्त्रीले रेलको कुरा गरेर मधेसलाई झुक्याएको, किनेको रेल पनि चलाउन नसकेको आरोप लगाए।
नेता थापाले अहिले देशमा यो परिस्थिति आउनुमा पुष्पकमल दाहाल र माधव नेपाल पनि ओली जत्तिकै दोषी रहेको आरोप लगाए। साथै उनले मधेसका नेताले दुई तिहाईको बल नदिएको भए ओलीले यति ठूलो दुस्साहस गर्न नसक्ने जिकिर गरे।
कार्यक्रममा कांग्रेसका उपसभापति विमलेन्द्र निधिले झुटको मसिहा बनेर लुट्नेसँग सचेत हुनुपर्ने बेला आएको बताए।
नेता निधिले मधेशलाई भजाएर सत्ता भोग गरी अहिले ओलीको विरोध गरेर चोख्याउन खोजेको आरोप लगाए।