धनगढी- कैलालीमा प्रेमिकाको हत्या गरेको आशंकामा कार्यवाहक वडाध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ३ का कार्यवाहक वडाध्यक्ष निरज चौधरीलाई प्रेमिका सञ्जिता चौधरीको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले चौधरीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको बताए।
सञ्जिता चौधरी आज बिहान कार्यवाहक वडाध्यक्षकै कोठामा बाहिरबाट ताल्चा लगाएको अवस्थामा मृत फेला परेकी थिइन्।
मृतकका दाजु रमेश चौधरीका अनुसार विगत १० वर्षदेखि कार्यवाहक वडाध्यक्षसँग प्रेम सम्बन्धमा रहेकी सञ्जितालाई झुक्याएर उनले हालै अर्को बिवाह गरेका थिए।
चौधरी पासो लगाएको अवस्थामा भेटिए पनि खुट्टा भुईमा टेकिएको र बाहिरबाट ताल्चा लगाएका कारण हत्या भएको आशंका गरिएको छ।
मृतक चौधरीको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।