काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको बहस यो साताभित्र सक्नुपर्ने बताएका छन्।
संवैधानिक इजलासमा जारी बहस लम्बिंदै जान थालेपछि प्रधानन्यायाधीश राणाले बहस छिटो सक्नुपर्ने बताएका हुन्।
प्रधानमन्त्रीको तर्फबाट इजलासमा बहस गर्ने क्रममा अधिवक्ता रमेश बडालले आफूलाई ३० मिनेटले नपुग्ने बताएपछि जवाफमा
प्रधानन्यायाधीश राणाले मुद्दाको किनारा छिट्टै लगाउनुपर्ने भएकोले तोकिएकै समयमा सकाउन आदेश दिएका थिए।
‘तपाईहरुलाई हामीले माघ १९ देखि समय दिएका हौं। ३० गतेसम्म बहस सक्नुपर्छ,’ इजलासबाट प्रधानन्यायाधीशले भने।
सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धका १३ वटा रिट निवेदनमाथि निरन्तर सुनुवाइ भइरहेको छ।
राणाले अदालतको सहयोगीका रुपमा एमीकस क्यूरीलाई पनि समय दिनुपर्ने र आफूलाई पनि केही समय लाग्ने बताएका थिए।
सरकारी पक्षले शुरुवातमा बहस गर्दा समय निर्धारण गरिएको थिएन्। तर, समय लम्बिदै जान थालेपछि भने इजलासले समय निर्धारण गरेर बहसका लागि १५ मिनेट समय दिइएको छ।
आइतबार सरकारी पक्षले बहस सकेको छ भने अब प्रधानमन्त्रीका तर्फबाट निजी कानून व्यवसायीहरुले बहस गर्नेछन्।
यसअघि रिट निवेदक र उनीहरुकातर्फबाट करिब ७० जना कानुन व्यवसायीहरुले बहस गरिसकेका छन्।