काठमाडौं – रियल मड्रिडले च्याम्पियन्स लिगको आउँदो खेलमा कप्तान सर्जियो रामोसबिना प्रतिस्पर्धा गर्ने भएको छ।
घुँडाको शल्यक्रियापछि रामोस ६ हप्ता मैदानबाहिर रहने रियल मड्रिडले जनाएको हो।
रियलका अनुसार रामोसको बायाँ घुँडाको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। सुपरकोपा डी स्पानाको सेमिफाइनलमा रियल पराजित भएयताका खेलमा रामोसले सहभागिता जनाएका छैनन्।
जनवरी १४ को त्यो खेलमा उनले निर्धारित ९० मिनेट मैदानमा बिताए पनि फिटनेसका कारण संघर्ष गरिरहेका थिए। त्यसपछिका खेलमा नदेखिएका उनको मेनिस्कस शल्यक्रिया सम्पन्न भएको रियलले एक सूचना जारी गर्दै भनेको छ।
स्पेनिस पत्रिका कोपेको रिपोर्टका अनुसार उनी ६ देखि ७ हप्ता मैदानबाहिर रहने छन्।
यदि त्यसो भएमा उनले च्याम्पियन्स लिगअन्तर्गत फेब्रुअरी २४ र मार्च १६ मा हुने दुवै लेगका खेल गुमाउने छन्।
शनिबार रातिको खेलमा ह्वेस्कामाथि जित निकालेको रियलका प्रशिक्षक जिनेदिन जिदानेले भने, ‘उनलाई शल्यक्रिया आवश्यक थियो। उनको शल्यक्रिया हुनेछ। बाँकी केही समस्या छैन।’
त्यस्तै मार्च ७ मा हुनेल मड्रिड डर्बीमा पनि जिदानेले आफ्ना महत्त्वपूर्ण डिफेन्डर गुमाउने छन्। त्यसो भएमा पहिलो लेगमा घरेलु मैदानमा जित निकालेको रियललाई एट्लेटिकोविरुद्ध दोस्रो लेगको खेल भारी पर्नेछ।
लिगको अंक तालिकामा पनि १९ खेलबाट ५० अंक बनाएको एट्लेटिको शीर्षस्थानमा छ भने २१ खेलबाट ४३ अंक बनाएको रियल दोस्रो स्थानमा छ।
अब ६ हप्ता आराम गरेका रामोस अप्रिल ११ मा हुने दोस्रो लेगको एल क्लासिकोमा भने मैदान फर्किसकेका हुनेछन्।
रियल मड्रिडसँग रामोसको सम्झौता आउँदो समरमा सकिँदैछ।