काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा चलिरहेको मुद्दाको सुनुवाइ आज पनि जारी छ।
संवैधानिक इजालसमा राखेर सो मुद्दाको निरन्तर रुपमा सुनुवाइ भइरहेको छ। आज सह न्यायाधिवक्ता उद्धबप्रसाद पुडासैनीले बहस सुरू गरेका छन्।
शुक्रबार सरकारका तर्फबाट सहन्यायाधिवक्ताहरु सञ्जीवराज रेग्मी, लोकनाथ पराजुली र खेमराज ज्ञवालीले बहस गरेका थिए।
सरकारी पक्षबाट महान्यायाधिवक्ता अग्निप्रसाद खरेल, प्रधानमन्त्रीका तर्फबाट सुशील पन्त, नायब महान्यायाधिवक्ताहरु पद्मप्रसाद पाण्डे, र नारायण पौडेलले बहस गरिसकेका छन्।
रिट निवेदकका तर्फबाट भने यसअघि नै बहस भइसकेको छ। सरकारी पक्ष र प्रधानमन्त्रीका तर्फबाट बहस गर्ने कानून व्यवसायीको बहस सकिएपछि एमिकस क्यूरीका तर्फबाट बहस हुनेछ।
त्यसपछि पुनः रिट निवेदकका तर्फबाट जवाफ पेश गर्नुपर्ने हुन्छ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा माघ ४ गतेदेखि निरन्तर रुपमा मुद्दाको सुनुवाइ भइरहेको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको हो।