काठमाडौं- नेपाल उद्योग परिसंघले मुलुकको आर्थिक सम्पन्नताका लागि अबको १० वर्ष महत्वपूर्ण हुने बताएको छ।
नेपाल आर्थिक पत्रकार संघसँगको अन्तरक्रियामा परिसंघ अध्यक्ष सतीश मोरले विगतका संकट झेलेर सबल भएको निजी क्षेत्रलाई राज्यले उपयुक्त वातावरण सृजना गरे १० वर्षमै मुलुकले नयाँ गति लिने धारणा राखे।
सबै किसिमका बिपत्तिमा पनि निजी क्षेत्र बिचलित नभई अघि बढेको भन्दै अध्यक्ष मोरले यसको फाइदा लिएर सम्बृद्धि हासिल गर्न सरकारको ध्यानाकर्षण गराए।
‘द्वन्द्व, संक्रमणकाल, भूकम्प, नाकाबन्दी र कोरोना जस्ता जटिल समय हामीले भोग्यौं। यी संकटले हामीलाई थप क्षमतावान भएर अघि बढ्न सिकाएको छ,’ अध्यक्ष मोरले भने, ‘सरकारले उपयुक्त लगानीको वातावरण सृजना गरेर अघि बढोस् मुलुक बन्छ।’
देशको आर्थिक सम्बृद्धिका लागि स्वदेशी पुँजीसंगै विदेशी लगानीको परिचाल अपरिहार्य भएको अध्यक्ष मोरले बताए।
प्रक्रियागत झन्जटहरुमा सरकारले सहजीकरण गर्नुपर्ने धारणा राख्दै उनले श्रमशक्ति देशको महत्वपूर्ण पूँजी भएको बताए।
अन्तरक्रियामा बोल्दै परिसंघका उपध्यक्ष राजेश अग्रवालले सरकारले निजी क्षेत्रलाई हेर्ने परम्परागत धारणा बदल्नु पर्ने बताए।
नेपाली उद्योगी व्यवसायीहरु स्वदेशमा मात्रै नभई संसारभर प्रतिस्पर्धा गर्न सक्ने क्षमतामा पुगेको भन्दै अग्रवालले निजी क्षेत्रको क्षमतामा विश्वास गर्न सरकारलाई आग्रह गरे।
‘पछिल्लो १० वर्षमा हामीले आफूलाई निकै तिखारेका छौं, हाम्रो क्षमता र फैलावटलाई अनुकूल हुनेगरी सरकारले समयनुकूल ऐन र नियम परिमार्जन गरेर निजी क्षेत्रलाई सघाओस्,’ उपाध्यक्ष अग्रवालले भने ।