काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड प्रभावित श्रमजीवी पत्रकारहरूका लागि राहत प्याकेज ल्याउने घोषणा गरेका छन्।
त्यसका लागि आवश्यक सुझाव दिन नेपाल पत्रकार महासंघसहित सरोकारवाला निकायलाई उनले आग्रहसमेत गरे।
मन्त्री गुरुङले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे मन्त्रालयलाई सुुझाव दिन पनि आग्रह गरेका छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आइतबार काठमाडौंमा आयोजित ‘आम सञ्चार र श्रमजीवी पत्रकारः नीति, कार्यक्रम र बजेट’ विषयक छलफल कार्यक्रममा उनले सरकार प्रेस स्वतन्त्रताको पक्षमा दृढ रहेको बताए।
पत्रकारहरूले आफ्नो आचारसंहिता पालना गर्ने कामलाई प्रभावकारी बनाउने उपायको विषयमा मन्त्रालयले सरोकारवाला निकायबाट सुुझावको अपेक्षा गरेको पनि उनले स्पष्ट पारेका छन्।