काठमाडौं – संवैधानिक परिषद्को सिफारिसमा भएका नियुक्ति बदर हुनुपर्ने भन्दै विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले दायर गरेको रिट न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा तोकिएको छ।
उक्त रिट निवेदनमाथि आज सुनुवाइ हुँदैछ।
सापकोटा शुक्रबार अदालतमा आफैं उपस्थित भएर नियुक्ति बदरको माग गर्दै रिट दायर गरेका थिए।
मंसिर ३० गते आफ्नो उपस्थितिबिना बसेको बैठकबाट ल्याइएको अध्यादेशमार्फत् गरिएको नियुक्ति गैरकानुनी भएको उनले रिटमा जिकिर गरेका छन्।
सभामुख सापकोटाले राष्ट्रपति कार्यालयसहित ३९ जनालाई विपक्षी बनाएका छन्।
संवैधानिक परिषद्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली, सदस्य एवं प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा तथा राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना र नियुक्ति पाएका व्यक्तिहरूलाई रिटमा विपक्षी बनाइएको छ।
बुधबार राष्ट्रपति कार्यालयमा प्रधानन्यायाधीश राणाले संवैधानिक परिषद्मा सिफारिस सबै पदाधिकारीलाई शपथ गराएका थिए।