सोमबार, असोज ५, २०८३

‘व्यक्तिगत राग आलाप्‍ने लेखक साहित्यिक रंगमञ्चबाट ढिलोचाँडो विलीन हुन्छ’

लेख्दै जाँदा एउटा शैलीको विकास हुँदो रहेछ। कसले कस्तो लेखेको छ भनेर मूल्यांकन गर्ने त पाठक नै हुन्। जसले समय, परिस्थिति र जीवनदर्शन समेटेर लेख्छ ऊ सफल हुन्छ। व्यक्तिगत राग मात्रै आलाप्ने लेखक साहित्यिक रंगमञ्चबाट ढिलोचाँडो विलीन भएर जान्छ। 
 |  शनिबार, माघ २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ २४, २०७७

सागर गैरे पेसाले व्यवसायी हुन्। उनी लामो समयदेखि अखबारी लेखनमा सक्रिय छन्। पुस्तक पठनमा रुचि राख्ने गैरे पूर्णिमा साहित्यिक पत्रिकाका सम्पादक हुन्। कोरोना महामारीका बेला भएको लकडाउनमा उनले लेखेको निबन्धहरूको संग्रह हालै प्रकाशित भएको छ। सोही कृतिमा आधारित रहेर गैरेसँग नेपाल समयले गरेको कुराकानी :

‘लकडाउन’ निबन्ध संग्रहमा कस्ता निबन्ध संकलित छन्?

‘लकडाउन’ मूलतः संस्मरणात्मक निबन्ध संग्रह हो। यसमा ४१ वटा निबन्ध संग्रहित छन्। अधिकांश निबन्ध स्मृतिमा आधारित छन् भने केही समकालीन विषयवस्तुमा लेखिएका छन्।

निबन्धमा महामारीका बेला बाहिर निस्कन नपाउँदाको पीडा समेट्न खोज्नुभएको हो?

महामारीको कारण चैत १० गतेदेखि घरभित्रै बस्नुपर्ने बाध्यात्मक अवस्था आइलाग्यो। जीवनको गति नै एकाएक खलबलिन पुग्यो। काम गरौं, काम छैन। त्यत्तिकै बस्न मन मान्दैन। सुरुका केही दिन त रमाइलै भयो। परिवारका सदस्यसँग मिठा परिकार बनाएर खाइयो। फिल्म हेर्ने, पुस्तक पढ्ने र साथीहरूसँग फोनमा कुराकानी पनि भयो। बिस्तारै यी कुराबाट मन अघायो। एकैनासको दिनचर्या खल्लो हुँदो रहेछ। रेडियो, टीभीमा मात्र होइन मोबाइलको रिङटोनमा पनि साबुनपानीले हात धुन, स्यानिटाइजर प्रयोग गर्न र मास्क लगाउन आग्रह गरेको गर्‍यै छन्। सामाजिक सञ्जालमा तिनै कुरा छन्। साथीभाइसँग फोनमा पनि यिनै कुरा दोहोरिन्छन्।

यस किसिमको तनावपूर्ण र बोझिलो समय काट्न साह्रै कठिन भइरहेको थियो। अनि मैले आफ्नै जिन्दगीलाई सरसर्ती नियालें। बाल्यकालका साथी सम्झिएँ। स्कुल र शिक्षकलाई सम्झिएँ। गोठाले जीवन र घाँसदाउरा गरेका जंगल सम्झिएँ। मेरो मानसपटलमा हाटबजार, सिनेमा हल, चोक, नदी र ताल ताजा भएर आए। ती परिवेशमा बितेको आफ्नै बाल्यकाल सम्झिएँ। बुवाआमा र दिदीभाइसँग बिताएको महत्त्वपूर्ण समय अगाडि आए। यी सब कुराले म भावुक भएँ। स्मृतिमै हराएर अतीत सुम्सुम्याउनु प्रिय लाग्यो मेरा लागि।

त्यसपछि हरेक दिन केही न केही लेखिरहें। तिनै विषयवस्तु ‘लकडाउन’ कृतिमा समेटिएका छन्। 

गजल–कविता र निबन्धमध्ये कुनचाहिँ विधामा आफ्ना अभिव्यक्ति प्रस्तुत गर्न सजिलो रहेछ?

हरेक विधाका आफ्नै विशेषता हुन्छन्। गीत, गजल र कवितामा खँदिलोपन हुन्छ र ती चोटिला हुन्छन्। धेरै कुरा बिम्बबाट बुझ्नुपर्ने हुन्छ। यी विधा सीमित घेरा र नियमभित्र बसेर लेख्नुपर्ने हुन्छ। तर निबन्ध लेख्दा कुनै छेकवार र बन्धन हुँदैन। बन्धनमुक्त भएर आफ्ना भावना र विचार पोख्न पाइन्छ।

नेपाली साहित्यका हरेक विधाको मौलिकपन र विशिष्ट महत्त्व छ। मलाई भने निबन्ध विधाले छोयो। मैले आफ्ना कुरा यही विधामा भन्न सक्छु जस्तो लाग्यो। म नियात्रा लेख्न पनि रुचाउँछु। आउँदा दिनमा पनि म यही विधामै आफूलाई क्रियाशील गराउनेछु। निबन्ध विधा रोज्नुको कारणचाहिँ भावना प्रस्तुत गर्दा प्राप्त हुने आत्मसन्तुष्टि नै हो।

अचेल कथा र उपन्यास बढी पढिन्छन् भनिन्छ? निबन्ध लेखन नै किन?

कसैलाई गीत मन पर्छ। कसैलाई गजल त कसैलाई मुक्तक मन पर्छ। बढी लेखिने विधा पनि गीत, गजल, कविता र मुक्तक हुन्। नेपाली साहित्यमा विधागत रूपमा कथा र उपन्यासलाई अलिक खँदिलो विधा मानिएको देखिन्छ। वास्तविकता हेर्दा आख्यान बढी नै चर्चित र बिकाउ जस्ता लाग्छन्। निबन्धको आफ्नै महत्त्व छ र साहित्यमा निबन्ध विधाले पनि विशिष्ट छाप र प्रभाव छाडेका छन्। त्यसैले पनि मेरो झुकाव निबन्धप्रति बढी नै छ।

कतिपय साहित्यकारका निबन्धमा व्यक्तिगत आग्रह बढी प्रकट भएको पाइन्छ। यसबारे के भन्नुहुन्छ?

कुनै पनि विधामा लेखकले भोगेका अनि अनुभूत गरेका विषय नै पोखिने हुन्। कसैले पनि आफूले नसुनेको, नदेखेको वा कल्पना नगरेको विषयमा लेख्न सक्दैन। साहित्यका जुनसुकै विधाको यथार्थ यही हो। निबन्धभित्र लेखक मज्जाले खेल्न पाउँछ। नियात्रा, संस्मरण, आत्मकथा, जीवनी पनि निबन्धकै प्रकार हुन्। मलाई लाग्छ- सम्भवतः संसारमा सबैभन्दा बढी पढिने विधा निबन्ध नै हो। यसो भन्दैमा निबन्ध लेख्ने सबै साहित्यकार सफल छन् र हुन्छन् भन्ने पक्षमा म छैन। लेख्दै जाँदा एउटा शैलीको विकास हुँदो रहेछ। कसले कस्तो लेखेको छ भनेर मूल्यांकन गर्ने त पाठक नै हुन्। जसले समय, परिस्थिति र जीवनदर्शन समेटेर लेख्छ ऊ सफल हुन्छ। व्यक्तिगत राग मात्रै आलाप्ने लेखक साहित्यिक रंगमञ्चबाट ढिलोचाँडो विलीन भएर जान्छ। 

व्यवसायमा व्यस्त हुँदाहुँदै पनि साहित्यमा संलग्न रहनुभएको छ। कुन समयमा साहित्य सिर्जना गर्नुहुन्छ?

व्यवसाय मेरो कर्म हो, साहित्य लेखन रहर हो। साहित्यिक कृतिले मेरो मन सबैभन्दा बेसी छुन्छ। फुर्सद पाउँदा पढ्न मन पराउँछु। स्कुल पढ्दैदेखि पाठ्यक्रमबाहिरका पुस्तक पढ्दै आएको छु। तिनै पुस्तकले मलाई जीवनजगत् बुझ्न सघाए। जिन्दगी लयमा हिँडाउन पुस्तक पढ्नैपर्छ। त्यसैले जीवनमा संस्कृतिको ठूलो महत्त्व छ। 

जीवनजगत् बुझ्न साहित्यजत्तिको भरपर्दो माध्यम अन्य हुनै सक्दैन। साहित्यले मानिसको मनमस्तिष्कलाई विरेचन गर्दछ।

समय अनुकूल हुनेबित्तिकै अध्ययनमा केन्द्रित हुन्छु। पढ्नका लागि प्रायः रातिको समय सहज लाग्छ। यात्रामा पनि मेरो साथमा पुस्तक हुन्छ। मेरो एक्लोपनका साथी भनेकै साहित्यिक पुस्तक हुन्। त्यसैले व्यवसायमा लाग्दालाग्दै पनि म पठन र लेखनमा संलग्न छु।

मोफसलमा रहेर साहित्य लेखन, प्रकाशन र प्रचारमा कत्तिको कठिनाइ भोगिरहनुभएको छ?

पहाडको फेदीमा बसेर चिच्याउनुमा र पहाडको चुचुरामा बसेर चिच्याउनुमा धेरै भिन्नता हुन्छ। संघीय राजधानीमा राष्ट्रिय र अन्तर्राष्ट्रिय मिडिया हुन्छन्। त्यहाँ बिस्तारै बोले पनि त्यसको भाइब्रेसन टाढासम्म फैलिन्छ। त्यस्तो आवाजलाई कोही न कोहीले सुनिरहेका हुन सक्छन्।

मोफसलका लेखकले त्यस्तो लाभ पाउँदैनन्। कैयन् राम्रा साहित्यिक पत्रिका, खेलाडी, गीतकार, संगीतकार, लेखक पत्रकार मोफसलमै हराइरहेका हुन्छन्। तर त्यत्तिकै मिहिनेत राजधानीमा बसेर गर्ने हो भने त्यसको लाभ छिटो र बढी देखिन्छ। यद्यपि प्रतिभा आफैं उत्पन्न हुने कुरा हो। ढुंगाको काप फोरेर पनि उम्रिन्छ पीपल भनेजस्तै मोफसलबाट उदाएर देशव्यापी रूपमा चर्चित हुने पनि धेरै छन्। 

तपाईंको निबन्ध संग्रह पाठकले किन पढ्ने? 

हरेक मान्छेसँग जीवन भोगाइका अनेक कथा हुन्छन्। अनेक खालका अनुभूति हुन्छन्। जीवन भोगाइमा एकरूपता भेटिन पनि सक्छ। ठूलो कुरा प्रस्तुत गर्ने शैली हो। मैले आफ्ना भोगाइलाई फरक शैलीमा भनेको छु। कसले कसरी लेख्दोरहेछ भन्ने कुरा उसलाई नपढी कसरी थाहा पाउन सकिन्छ र? पाठकलाई मेरो कृति पढ्नैपर्छ भनेर कर गर्दिनँ। लकडाउनको पीडा र भोगाइ बुझ्न चाहनेका लागि यो कृति पठनीय हुन सक्छ भन्नेमा म विश्वस्त छु।

प्रकाशित: Feb 06, 2021| 06:31 शनिबार, माघ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।