चितवन- जिल्लामा ५६ जना कुष्ठ रोगका बिरामी थपिएका छन्।। स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा सो सङ्ख्यामा रोगी थपिएका हुन।
६८ औ विश्व कुष्ठरोग दिवसको सन्दर्भमा शुक्रबार यहाँ आयोजित कुष्ठरोग तथा हात्तीपाइले अन्तरक्रिया कार्यक्रममा सो तथ्यांक सार्वजनिक गरिएको हो।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीका अनुसार भेटिएका रोगीहरुमध्ये सबैभन्दा बढी भरतपुर महानगरका छन्। इच्छाकामना गाउँपालिकामा भने रोगी नभेटिएको उनले बताए। भरतपुर महानगरपालिकाको नारायणी नदी किनारमा बढी कुष्ठरोगी भेटिएको कार्यालयले जनाएको छ।
अहिले जिल्लामा नयाँ सहित कुष्ठरोगीको संख्या ११६ पुगेको छ। उनीहरुले नियमित औषधि सेवन गर्दै आएको उनको भनाइ छ। चितवन कुष्ठरोग निवारणको तर्फ लागेको उनले बताए।
द लेप्रोसी मिसन नेपालको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा गत आर्थिक बर्षमा ६० जना नयाँ रोगी भेटिएको जानकारी दिइएको थियो।
कुष्ठरोगीहरुको जिविकोपार्जनका लागि जिल्लामा ६ वटा सहकारी संस्थाबाट काम भइरहेको जानकारी दिइयो। यो रोग माइट्रो व्याक्टेरीया लेप्रो नामक सुक्ष्म किटाणुबाट सर्ने गर्दछ।
अहिले जिल्लामा १० हजार जनामा एक जनालाई रोग देखिने गरेको तिवारीले वताए। सो संख्या घट्दो क्रममा छ।
कुष्ठरोग लागेका बिरामीले नियमित एक वर्षसम्म औषधि खानु पर्ने हुन्छ। शरिरको कुनै भागमा छुँदा थाहा नपाउनु, रातो फुस्रो दागहरु देखिनु, हात खुट्टा झमझमाउनु, अनुहार र कानको लोति बाक्लो हुनु र गिर्खाहरु देखिनु यसका लक्षण हुन।