काठमाडौं– उनका बारेमा बुझ्न, सफलता नियाल्न र लामो खेल जीवनबारे जान्न धेरै केही पढ्नै पर्दैन। उनको व्यक्तित्व शरीररभरि यत्रतत्र देख्न पाइन्छ।
त्यसो त उनले शरीरमा ट्याटु खोप्न केही ठाउँ बाँकी राखेका छन्, जहाँ उनले भविष्यमा आउने अविस्मरणीय क्षणलाई खोप्नेछन्। उनी जीवनका मुख्य कुरा ट्याटु बनाएर शरीरमा सुरक्षित राख्ने गर्छन्।
उनी हुन् रियल मड्रिडका सर्वाधिक सफल कप्तान सर्जियो रामोस। उनले बायाँ हर्थुंगोमा तीनवटा नम्बर खोपाएका छन्– ३५, १९ र +९०।
त्यो नम्बर किन त ?
सेभियाबाट खेल्दा ३५ नम्बरको जर्सी लगाउँथे। उनले १९ नम्बरको जर्सी लगाएर खेल्दा स्पेनले विश्वकप जितेका थिए। जुन उनले स्पेनिस टिमबाट अन्तर्राष्ट्रिय खेलमा डेब्यू गर्दा लगाएका थिए।
+९० भने रियल मड्रिडसँग सम्बन्धित छ। रियलले १० औं च्याम्पियन्स लिगको उपाधि जित्दा ९३ औं मिनेटमा गोल गरेको थियो। त्यसकै सम्झनामा उनले +९० अंक खोपाएका हुन्। उक्त खेलमा त्यही गोलका कारण रियलले च्याम्पियन्स लिग जितेको थियो।
बायाँ हातमै रामोसले आफ्ना चार सन्तान र आमाबाबुको नाम खोपाएका छन्।
रियल मड्रिडमा अनुबन्ध भएको मिति (२००५ अगस्ट ३१) पनि सोही हातमा खोपिएको छ। अनि बायाँ पाखुरामा देख्न पाइन्छ, विश्वकपको ट्रफी। जुन उनले सन् २०१० मा स्पेनबाट जितेका थिए।
तर उनले ट्याटुमा एउटा महत्त्वपूर्ण कुरा भने खोपाएका छैनन्, त्यो हो रेड कार्ड। रामोसले अहिलेसम्म २६ रेड कार्ड खाएका छन्।
अहिले रियल मड्रिडसँग उनको सम्बन्धले शरीरमा नयाँ ट्याटु खोपिने अनुमान लगाउन गाह्रो छैन। रियलका सेन्टर ब्याक रामोस ३५ वर्षका भए। उनको सम्झौता आउँदो समरमा सकिँदै छ।

क्लब उनीसँग नयाँ सम्झौता गर्ने योजनामा पुगिसकेको भने छैन। युरोपियन फुटबलमा अत्यधिक सफल मोडर्न कप्तान रामोसको रियल यात्रा टुंगिने तरखरमा छ। त्यसैले उनले अब चाँडै १६ वर्षे बर्नबेउको यात्रामा पूर्णविराम लगाउँदा उनको नयाँ ट्याटु खोपिनेछ।
पछिल्लो डेढ दशकका महान् डिफेन्डरमध्ये रामोस पनि एक हुन्। रियल मड्रिडको अथक सफलताको प्रतीक हुन्, रामोस। रियलको बोर्डरुममा उनलाई राख्ने कि नराख्नेबारे विचार विभाजित छ।
सफलताको निरन्तर शिखर चढिरहेका उनले चार च्याम्पियन्स लिग, पाँच ला लिगा, एक विश्वकप र दुई युरोपियन च्याम्पियन्सिप जितेका छन्।
मैदानमा मात्र होइन, उनी मैदानबाहिर पनि उत्तिकै सफल मानिन्छन्। उनको विचारमा गल्तीहरु यात्रामा आउने पाटामात्र हुन्। उनी लेख्छन्, ‘हामीलाई हाम्रो गल्तीले परिभाषित गर्दैन, बरु हामी जसरी नयाँ लक्ष्यसम्म पुग्छौं, त्यसले गर्छ।’
त्यसैले उनी गल्ती गर्नबाट डराउँदैनन्। त्यसैले त कहिलेकाहिँ फरवार्ड नचम्किएको खेलमा उनी डिफेन्सबाट आएर गोल गरिदिन्छन्। जसले उनीप्रति समर्थकको चासो अझ उचो बनाइदिन्छ।
र, धेरैमध्ये केही डिफेन्डर्सले मात्र पेनाल्टी एरियामा चमत्कार देखाउँछन्। त्यसैमध्येका एक रामोस पनि हुन्। उपलब्धिले खारिएका रामोस यो शताब्दीमा क्लबका सातौं सर्वाधिक गोलकर्ता पनि हुन्।
उनी युरोपका शीर्ष डिभिजन खेलाडीमा २००५ यताकै सर्वाधिक गोलकर्ता डिफेन्डर हुन्। उनले ८९१ खेलमा १२६ गोल गरेका छन्।
खेलको यही अक्रामक उपस्थितिलाई उनले एक ट्याटुमा व्यक्त गरेका छन्। उनले गर्धनमा मुटुको चित्रसँगै लेखेको भनाइले त्यो सावित गर्छ। ‘एउटा भेडाको विचारबाट प्रभावित भएर सिंहले कहिल्यै हार्दैन,’ उनले लेखेका छन्।
त्यही भनाइको एक छेउमा त सिंहको ठूलो ट्याटु नै देख्न पाइन्छ। अर्कोतर्फ, बायाँ कुममा भने उनले व्बाँसोको चित्र कोरेका छन्। त्यो उनको पहिलो ट्याटु पनि हो।
उनले ढाडको बीचमा बनाएको ट्याटुमा ‘ड्रिम क्याचर’ र भनाइ छन्। ‘ड्रिम क्याचर’ खास तवरले योद्धालाई खराब सपनाबाट बचाउनका लागि प्रयोग गरिन्छ, जसलाई उनले ढाडमा खोपेका छन्। त्यसको साइडमा लेखेका छन्, ‘जो मसँगै भोकाउँछ र मेरो साथ रहन्छ, उसले मात्र मसँग खाना खान्छ।’
त्यस्तै उनले हातको बाइसेपमा षट्कोण बनाएका छन्। त्यो षट्कोण अँध्यारो रातमा बादलको ढाकिएको आकाशबीच रहेजस्तो देखिन्छ।
रामोसका हजुरआमा नेहाले आमा पिकलाई षट्कोण आकारको गहना उपहारमा दिएकी थिइन्। त्यसको सम्झनामा उनले यो ट्याटु बनाए।
त्यही ट्याटुको तलतिर छ स्पेनको नक्सा। जहाँ उनले अंग्रेजीको क्यापिटल लेटरमा ‘फ्रिडम’ लेखेका छन्। उनले त्यो ट्याटु सेभियाबाट खेल्दा बनाएका थिए।
उनले ढाडको एक कुनामा मृत परिवारको सम्झनामा चिहानको ट्याटु बनाएका छन्। ढाडको तलतिर पनि ठूलो अक्षरमा बहिनी र भाइको नाम लेखेका छन्। त्यहाँ लेखिएको छ– ‘मिरियन ४ रेने’। मिरियन उनको दिदीको नाम हो भने भाइको नाम रेने हो जसले चार नम्बर अंकित जर्सी लगाउँछन्।
साथमा उनले जिसस क्राइस्टको र छेउमा हात जोडेको चित्र कोरेका छन्। यसले उनी धार्मिक स्वभावको भन्ने अंकित गर्छ।
त्यही भागको साथैमा रहेको एउटा ट्याटुले भने सबैलाई आकर्षित गर्छ। त्यहाँ छ मुटुको नक्सा। मुटुमाथि आगो बलिरहेको छ भने मुटुलाई आठवटा छुराले प्रहार गरिएको छ।
क्याथोलिक मिथअनुसार त्यसको अर्थ ‘भर्जिन मेरी’को शुद्ध आत्मा भन्ने लाग्छ।
उनले दायाँ हातको मुनि माइक, वाइन ग्लास र गुलाबको चित्र बनाएका छन्। जसले उनको फुटबलबाहेक सोखलाई बुझाउँछ। त्यसवरपर केही ससाना ट्याटुहरु पनि छन्। आमा र दिदीको तस्बिर पनि उनले त्यहीँ अटाएका छन्।
रामोस को दायाँ हातमा भएको आश्चर्यजनक ट्याटुले उनी कति धार्मिक छन् भन्ने प्रमाणित गर्छ। जहाँ फातिमाको हात राखिएको छ। क्याथोलिक मन्दिरमा फातिमालाई श्रद्धासाथ लिने गरिन्छ। फातिमाको हातलाई हंसा भनिन्छ।
रामोसले त्यही हंसाको चित्र बनाएका हुन्। हंसालाई मानिसको प्रारब्धको रुपमा पनि बुझ्ने गरिन्छ। हंसाको साइडमा उनले सेभिल्लीको एक टावरको ट्याटु बनाएका छन्।
उनको शरीरभरि जिसस, क्रस, मेरी र धर्म बुझाउने अन्य धेरै ट्याटुहरु छन्। त्यसैमध्येको एक ठाउँमा भेटिन्छ रथको चित्र।
उनले सिद्धान्त र भनाइहरु पनि निकै ठाउँमा राखेका छन्। तर उनको ट्याटुमा पाइने प्रमुख विषेशता चाहिँ पृष्ठभूमि नै हो। सबैजसो चित्रको कुनै न कुनै पृष्ठभूमि देख्न पाइन्छ।
बायाँ हातमा उनले क्लब र फुटबल करिअरसम्बन्धी ट्याटु खोपेका छन् भने दायाँ हातमा ‘ग्यादरिङ’ ट्याटु देख्न पाइन्छ। जहाँ उनले श्रीमती रुबिओको नाम पनि लेखेका छन्। ती धेरै कुराहरु एक अर्कासँग सम्बन्धित छन्। जसलाई उनले एकैठाउँमा राखे।
अरुले विवाह गरेपछि औंठी लगाउँछन्। उनले चाहिँ औंठीको ट्याटु बनाए। उनले श्रीमती, परिवार, फुटबल र धर्मबारे मात्र ट्याटु बनाएनन्, साथीको सम्झनामा पनि केही ट्याटु खोपेका छन्।
रामोसले बेस्ट फ्रेन्ड मुन्डीको नाममा पनि ट्याटू बनाए। एम शब्द दुई पंखाको ट्याटुले उनको सबैभन्दा मिल्ने साथीको संकेत गर्छ।
शरीरको माथिल्लो भागमा मात्र नभएर तल्लो भागमा पनि ट्याटु देख्न पाइन्छ रामोसको। खुट्टामा च्याम्पियन्स लिग र विश्वकप ट्रफीको चित्रअंकित ट्याटु बनाएका छन्। यसबाहेक उनको खुट्टामा अन्य धेरै ट्याटुहरु छन्। जसले उनको जीवनका विभिन्न घटनालाई दर्शाउँछ।
तरबार, फुटबल कोर्ट, कविता, नाना ट्याटु, मड्रिडलगायत उनको खुट्टामा भएका केही थप ट्याटु हुन्।
–एजेन्सीहरुको सहयोगमा