काठमाडौं– चालू आर्थिक वर्षको ६ महिनामा करिब दुई खर्ब रुपैयाँ वैदेशिक सहायताको प्रतिबद्धता आएको छ।
अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको साउनदेखि पुससम्म १ खर्ब ८७ अर्ब ४३ करोड ६२ लाख ७० हजार रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता आएको हो।
अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार पुससम्म १८ अर्ब १२ करोड ५२ लाख ५० हजार रुपैयाँ बराबरको अनुदान सहायताको प्रतिबद्धता आएको छ। १ खर्ब ६९ अर्ब ३१ करोड १० लाख २० हजार रुपैयाँ बराबरको ऋण सहायतासहितको वैदेशिक सहायता प्रतिबद्धता आएको हो।
अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक कात्तिकदेखि पुससम्म अनुदान सहायतामा १० अर्ब ४४ करोड ६३ लाख ४० हजारको प्रतिबद्धता आएको छ। सो त्रैमासिकमा ऋण सहायता ९१ अर्ब ५९ करोड ५० लाख १९ हजार बराबरको प्रतिबद्धता आएको अर्थ मन्त्रालयले जानकारी दिएको छ।