काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापाले अस्थिरता र अवसरवादविरुद्ध देश एकजुट भएको बताएका छन्।
उक्त समूहले आज शुक्रबार काठमाडौंको दरबारमार्गमा आयोजना गरेको सभामा उनले राष्ट्रिय स्वाधिनता, संविधान र गणतन्त्र रक्षाका लागि जनसभा आयोजना गरिएको बताए। अवसरवादी र फुटवादीलाई पराजित गराउन निर्वाचन आवश्यक भएको तर्क उनले गरे।
राष्ट्रपति, प्रधानमन्त्री र पार्टी अध्यक्षलाई अपदस्थ गर्न खोजेपछि आजको असाधारण परिस्थिति उत्पन्न भएको गृहमन्त्री थापाको भनाइ छ।
‘‘राजनीतिक सत्ताको प्रश्न भनेको राष्ट्रपति, प्रधानमन्त्री, पार्टी अध्यक्षसँग जोडिएको हुन्छ। यो असाधारण उत्पन्नका पछाडि नेतृत्वलाई अपदस्थ गर्ने, विस्थापित गर्ने षड्यन्त्रसँग जोडिएको छ,’ उनले भने।
पार्टीभित्रका अवसरवादीहरूले फुट र भ्रम सिर्जना गरेको उल्लेख गर्दै गृहमन्त्री थापाले वामपन्थी शक्तिहरूलाई पुनः ध्रुवीकरण गर्ने अभियान सुरु हुने बताए। थापाले मध्यावधि निर्वाचनलाई आन्दोलनको रूपमा पनि बुझ्न पनि आग्रह गरे।