काठमाडौं– संवैधानिक निकायमा पदाधिकारीहरु नियुक्ति गरिएको भन्दै त्यसविरुद्ध परेको रिट निवेदन न्यायाधीश कुमार रेग्मीको इजलासमा तोकिएको छ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिट निवेदन उपर आज पेशी तोकिएको हो।
त्रिपाठीले संसदीय सुनुवाइ समेत नगरेर नियुक्त भएका पदाधिकारीहरुको नियुक्ति बदर र काम कारवाहीमा रोक लगाउन माग गरेर रिट दायर गरेका हुन्।
मंसिर ३० गते बसेको संवैधानिक परिषदको बैठकले रिक्त विभिन्न निकायमा पदाधिकारी नियुक्त गरेको थियो। पुस ५ मा प्रतिनिधिसभा विघटनको घोषणा भएपछि मात्रै पदाधिकारीहरु नियुक्त गरिएको सार्वजनिक भएको थियो।
संसद् विघटन भएपछि संसदीय सुनुवाइ समिति पनि बस्न नसक्ने भएपछि सरकारले संसद् सचिवालयमा सिफारिस भएका व्यक्तिहरुको नाम दर्ता गराएको थियो।
सूचना दर्ता गराएको ४५ दिनपछि बुधबार उनीहरुलाई राष्ट्रपति कार्यालयमा प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणाले शपथ गराएका थिए।