शुक्रबार, भदौ १९, २०८३

बाजुरामा हिमपात हुँदा किसान उत्साहित, जनजीवन कष्टकर

बाजुरामा बिहीबार रातिदेखि हिमपात सुरु भएको छ। भारी हिमपातसंगै अत्याधिक चिसो बढेकाले यहाँको जनजीवन कष्टकर बनेको छ। 
 |  शुक्रबार, माघ २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २३, २०७७

बाजुरा– बाजुरामा बिहीबार रातिदेखि हिमपात सुरु भएको छ। भारी हिमपातसंगै अत्याधिक चिसो बढेकाले यहाँको जनजीवन कष्टकर बनेको छ। 

बाक्लो हिमपातका कारण किसान उत्साहित र खुशी भएका छन् भने व्यापारी चिन्तित छन्। 

समयमै हिमपात र बर्षा नहुँदा किसान लगाइएका हिउँदेबाली सुक्ने चिन्तामा थिए। मङ्सिरबाट हिमपात हुनुपर्नेमा यो वर्ष माघ महिनामा मात्र हिमपात भएको छ। बिहीबार रातिबाट बर्षासँगै हिमपात हुन थालेपछि किसान खुशी भएका हुन्। 

लामो समयसम्म पानी नपरेपछि लगाएका हिउँदेबाली खेतमै सुक्ने भनेर चिन्तित बनेका यहाँका किसान बर्षासँगै हिमपात हुन थालेपछि अब बाली सप्रिने भन्दै  उत्साहित भएका छन्। ‘यो वर्ष हिउँदे बाली उत्पादन नहुने भयो भनेर भरोसा मारिसकेका थियौँ’, बाजुरा गौमुल गाउँपालिकाका किसान मिलन रोकायाले भने, ‘बर्षासँगै हिमपात हुन थालेपछि अब हिउँदे बाली उत्पादनमा वृद्धि हुने आस पलाएको छ।’

हिउँ र पानीले अन्नबाली सप्रिनुका साथै सुक्खा मौसमले फैलन सक्ने रोग पनि रोक्ने भन्दै आफूहरु खुशी भएको उनको भनाइ छ। 

हिमपातले कृषकमा खुशीयाली ल्याए पनि यहाँका व्यापारी भने चिन्तित भएका छन्। भारी हिमपात भएर सडक बन्द भई सामान ढुवानी बन्द हुन्छ कि भनेर व्यापारी चिन्तित भएका हुन्। 

बाजुरा जिल्लाको माथिल्लो भेगको सामान तल्लो भेगमा रहेको सदरमुकाम मार्तडीबाट सडक मार्ग भएर आउने भएकाले बढी हिमपात भएमा कच्ची सडक बिग्रने र पोरखे लेकमा सडक बन्द भएर दैनिक उपभोग्य सामानको अभाव हुन्छ कि भनेर व्यापारी चिन्तित भएका हुन्। 

अहिले उच्च हिमाली क्षेत्रमा हिउँले डाँडाकाँडा सेताम्य छन्। एक्कासी बादल लागेर हिउँ पर्न थालेपछि निकै चिसो बढेको छ। चिसोमा न्यानो कपडा लगाउन र झोलिलो तातो खानेकुरा खान स्थानीय प्रशासनले आग्रह गरेको छ।

निरन्तर हिमपात भइरहेकाले गाइबस्तु गोठभन्दा बाहिर निकाल्न सकिने अवस्था छैन।  चिसोको मार बालबालिका र वृद्धवृद्धामा बढी देखिने गर्छ। बाजुरामा यो वर्ष पहिलो पटक हिमपात भएको हो। हिमपात नहुँदा धुलो र धुँवाका कारण मौसमी रुघाखोकीको प्रकोप बढ्ने सम्भावना थियो।

यहाँका बडिमालिका नगरपालिका, बूढीन्दा नगरपालिका, त्रिवेणी नगरपालिका, गौमुल गाउँपालिका, स्वामिकार्तिक गाउँपालिका, पाण्डव गुफा गाउँपालिका, हिमाली गाउँपालिकाको माथिल्लो क्षेत्रमा बिहीबार रातिदेखि नै हिमपात भइरहेको छ भने तलो क्षेत्रमा वर्षा भइरहेको छ।
     
सिमकोट– हिमाली जिल्ला हुम्लासहित कर्णाली उच्च हिमाली जिल्लामा लामो समयपछि बिहीबार रातिदेखि हिमपात हुँदा यहाँका किसान खुशी भएका छन्। 

बिहीबार बिहानदेखि जिल्लामा बाक्लो बादल लाग्नुका साथै रातिदेखि हिमपात हुँदा चिसो बढेको हो। हिमपातले जिल्लाा तापक्रम माइनस डिग्रीमा झरेको छ। जिल्लाको उत्तरी भेगमा एक इन्च हिमपात भएको छ भने दक्षिणी भेगमा वर्षा भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

मौसममा आएको बदलीसँगै एक्कासी हिमपात सुरु भएर बाक्लो हिउँ जमेको छ। जिल्लामा हिमपात हुँदा खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका क्षेत्र सेताम्य भएका छन्। हिमपातले हुम्लाको जनजीवन कष्टकर बनाएको छ।

यसपटकको हिमपातले जेठमा पाक्ने जेठासी बाली उवा, गहुँ, जौँलाई फाइदा हुने हुँदा कृषक उत्साहित भएका छन्। खेतबारीमा लगाइएको गहुँ, जौँ, उवालगायतका बालीलाई पुसदेखि जेठसम्म बेलाबेलामा पानीको आवश्यकता पर्ने भएकाले यस वर्ष समयमा वर्षा नहुँदा चिन्तित बनेका किसान बिहीबारबाट हिमपात हुँदा खुशी भएको सर्केगाड गाउँपालिका–६ बराइगाउँका मानबहादुर ऐडीले बताए। -रासस 
 

प्रकाशित: Feb 05, 2021| 02:33 शुक्रबार, माघ २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।