काठमाडौं- पहिलो चरणबाट बचेको कोरोना भाइरसविरुद्धको खोप नै प्राथमिकतामा परेका व्यक्तिलाई दोस्रो चरणमा लगाउने तयारी गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
पहिलो चरणमा ४ लाख ३० हजार जनालाई लगाउन योजना बनाएको खोप सबैलाई पुगेर बचेपछि दोस्रो चरणमा प्राथमिकतामा परेकालाई लगाउने भएको हो।
यही माघ १४ गतेबाट शुरु गरिएको खोप अहिलेसम्म एक लाख ४५ हजार ८४४ जनाले लगाएपछि खोप बच्न सक्ने भएकाले ती खोप दोस्रो चरणमा प्राथकितामा परेका व्यक्तिलाई दिइने मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
भारत सरकारले १० लाख मात्रा ‘कोभिशिल्ड’ खोप उपलब्ध गराएको थियो। उक्त खोप चार लाख ३० हजार प्राथमिकतामा परेका व्यक्तिलाई यही माघ २४ गतेसम्म लगाइँदैछ। खोप लगाउन अझै तीन दिन बाँकी छ।
मन्त्रालयका प्रवक्ता डा गौतमले अनुमान गरेभन्दा स्वास्थ्यकर्मी मुलुक बाहिर रहेकाले खोप बच्न सक्ने बताए। मन्त्रालयले सरकारी स्वास्थ्यकर्मी ३० हजार, महिला स्वास्थ्य स्वयंसेविका ६० हजार र स्वास्थ्य काउन्सिलमा दर्ता भएका दुई लाख ५० हजारलाई खोप लगाउने लक्ष्य राखेको थियो। तर धेरै स्वास्थ्यकर्मी काउन्सिलमा दर्ता भए पनि मुलुक बाहिर रोजगारी गरिरहेकाले लक्ष्यभन्दा कम स्वास्थ्यकर्मीले खोप लगाएको उनको भनाइ छ।
सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी, फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रम
रहेका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी तथा कारागारमा रहेका कैदी र सुरक्षाकर्मीलाई राखेको थियो।
सरकारले तीन प्रतिशत जनसङ्ख्यालाई खोप दिने लक्ष्यका साथ पहिलो चरणमा पनि प्राथमिकतामा परेका व्यक्तिलाई खोप दिएको हो।
मन्त्रालयका प्रवक्ता डा गौतमले बचेको खोप लगाउनेबारे छलफल भइरहेको जानकारी दिनुभयो। उहाँले बचेको खोप र दोस्रो चरणको खोपसँगै लगाइने बताए।
भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप यही माघ १४ गतेबाट देशभरि अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मीसहित अन्यलाई दिन थालिएको हो।