काठमाडौं– प्रतिनिधिसभा विघटन र संवैधानिक निकायका पदाधिकारीहरुको असंवैधानिक नियुक्तिको विरुद्धमा आह्वान गरिएको देशव्यापी आमहडताल सफल भएको नेकपाको दाहाल नेपाल पक्षले निष्कर्ष निकालेको छ।
आमहडताल सकिएपछि केन्द्रीय संघर्ष समितिका तर्फबाट प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठले विज्ञप्ति जारी गर्दै आमहडताल सफल भएको बताएका हुन्।
‘आमहडताल पूर्ण रुपमा सफल भएको छ। आम हडताल सफल बनाउने क्रममा प्राप्त जनसमर्थन, सद्भाव, सहभागिता र ऐक्यबद्धताका लागि हाम्रो पार्टी आम जनमुदायलाई हार्दिक धन्यबाद दिँदै आभार प्रकट गर्दछ,’ उनले विज्ञप्तिमा भनेका छन्।
शान्तिपूर्ण रुपमा आयोजित आमहडताललाई बदनाम गर्न, असफल पार्न र नियोजित रुपमा मुठभेड निम्त्याउन सरकारले गरेको हर्कत पार्टी र जनताको सचेत प्रयत्नमार्फत असफल पारिएको उनले बताएका छन्।
गृह मन्त्रालयबाट वक्तव्य जारी गर्दै जनतालाई आपसमा भिडाउने दुराशयुक्त प्रयत्नका बावजुद आजको आम हडताल शान्तिपूर्ण रुपमा सम्पन्न भएको उनीहरुको निष्कर्ष छ।
शान्तिपूर्ण आन्दोलनबाट तर्सेको सरकारले बिहानै काठमाडौंबाट पार्टीका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, केन्द्रीय कमिटी सदस्य हितमान शाक्य, डा. विजय पौडेल, अमृता थापासहित देशभरका सयौं नेता–कार्यकर्तालाई गिरफ्तार गरेको र जनकपुरमा शान्तिपूर्ण जुलुशमाथि प्रहार गरी स्थायी कमिटी सदस्य मात्रिका यादव र केन्द्रीय कमिटी सदस्य रामचन्द्र झालगायतलाई गम्भीर घाइते बनाएको दाहाल नेपाल समूहले जनाएको छ।
‘सरकारको यस दमनकारी, निरंकुश र कायर हर्कतको हाम्रो पार्टी घोर भत्सना गर्दै गिरफ्तार नेताहरूलाई अविलम्ब रिहा गर्न माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
दाहाल नेपाल समूहले आन्दोलनका क्रममा असमाञ्जस्यताका कारण सञ्चारकर्मीहरुमा परेको मर्काका लागि दुःख व्यक्त गरेको छ।
आम हडतालमा प्राप्त जनसमर्थनले उत्साहित बनाएको भन्दै संघर्षका माध्यमबाट हरहालतमा प्रतिगामी कदमलाई परास्त गर्ने ऊर्जा प्रदान गरेको उल्लेख गरेको छ।
जारी आन्दोलनलाई थप उचाइमा पुर्याउनका लागि माघ २८ गते राजधानी काठमाडौंमा बृहत् जनपदर्शन गर्न लागिएको र सहभागिताका लागि पनि दाहाल नेपाल समूहले आह्वान गरेको छ।