जनकपुरधाम– बन्द गराउन हिँडेका नेकपाको दाहाल–नेपाल समूहका प्रदर्शनकारी तथा प्रहरीबीच झडप हुँदा दुईजना पूर्वमन्त्रीसहित १४ जना घाइते छन्।
जनकपुरधामस्थित शिवचोकमा प्रहरीले बन्द गराउन पुगेका प्रदर्शनकारीमाथि बल प्रयोग गरेपछि झडप भएको थियो। झडपमा दुई पूर्वमन्त्री, एक नगरपालिकाका प्रमुख, एक प्रहरी जवान सहित १४ जना घाइते भएका हुन्।
प्रहरीको लाठीचार्जबाट पूर्वमन्त्रीद्वय रामचन्द्र झा र मातृका यादव, शहीदनगर नगरपालिकाका प्रमुख उदय बरबरियालाई चोट लागेको छ।
झा र बरबरियाको टाउकोमा र पूर्वमन्त्री मातृकाको खुट्टामा चोट लागेको छ। पूर्वमन्त्री झाको उपचारमा संलग्न चिकित्सकका अनुसार उनको टाउकोमा ६ वटा टाँका लागेको छ। यता झडकै क्रममा प्रहरी जवान लालबाबु रायसमेत घाइते भएका छन्।
अन्य घाइते हुनेहरुमा विदेह नगरपालिका वडा नम्बर–४ बस्ने ३६ वर्षीय मावि ठाडीका विद्यालय व्यवस्थापन समिति सदस्य शिवकुमार गोइत, शहीदनगर नगरपालिका वडा नम्बर–५ बस्ने अखिल महासंघका जिल्ला अध्यक्ष ४३ वर्षीय सुरेश कापर, सबैला नगरपालिका वडा नम्बर–२ बस्ने नेकपाका जिल्ला कमिटी सदस्य ५२ वर्षीय कारीराम यादव, हंसपुर नगरपालिका वडा नम्बर–४ बस्ने ३० वर्षीय प्रदीप साह, शहीदनगर नगरपालिका वडा नम्बर–८ बस्ने संघर्ष समितिका संयोजक ३० वर्षीय रुपेश विराजी छन्।
त्यसैगरी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–६ बस्ने नेकपाका नगर कमिटी अध्यक्ष ५० वर्षीय उमेश कुमार साह, विदेह नगरपालिका वडा नम्बर–१ बस्ने संघर्ष समितिका संयोजक २९ वर्षीय रञ्जित पाण्डे, शहीदनगर नगरपालिका वडा नम्बर–६ बस्ने युवा संघका जिल्ला सदस्य २८ वर्षीय अपराजय मण्डल, शहीदनगर नगरपालिका वडा नम्बर–६ बस्ने ३० वर्षीय सुभाष मण्डल र शहीदनगर नगरपालिका वडा नम्बर–८ बस्ने ५० वर्षीय विरजु विराजी पनि घाइते भएका छन्।