काठमाडौं– नेकपाले आह्वान गरेको नेपाल बन्दको विरुद्धमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ।
विवेकशील साझा पार्टीको अभियान विभागले बन्द हडतालको संस्कारविरुद्ध प्रदर्शन गरेको हो। विवेकशील साझा पार्टीले विगत १० वर्षदेखि कुनै पनि पार्टीले बन्द गर्दा विरोध गर्दै आएको छ।
विवेकशील साझाका अभियन्ताहरूले बन्दले देश बन्दैन, नेपाल खुला छ, गरी खान देऊ जस्ता नारा लेखिएका पम्प्लेट बोकेका थिए।
प्रदर्शनका क्रममा बोल्दै पार्टी संयोजक मिलन पाण्डेले भने, ‘विवेकशील साझा पार्टी आफ्ना राजनीतिक उपादेयताका लागि यस्ता कुसंस्कारगत आपराधिक अभ्यासको सहारा कहिल्यै लिने छैन। नागरिकको मौलिक हक सुरक्षण तथा सुसंस्कृत राजनीतिक अभ्यासका पक्षमा विवेकशील साझा आम नेपाली सँगै अग्रपंक्तिमा उभिनेछ।’
नागरिकको स्वतन्त्रतापूर्वक हिँडडुल गर्न पाउने अधिकार र आमजनजीवन प्रतिकूल हुने गरी आह्वान हुने बन्दहडतालका अलोकतान्त्रिक अराजक कार्यक्रमको विवेकशील साझाले प्रतिरोध गर्ने पार्टीका नेताहरूले बताएका छन्।
‘परम्परागत राजनीतिक दलहरूले यस्तो कुसंस्कारको जगेर्ना गर्न नछाड्ने नै हो भने आमसर्वसाधारण, पेसाकर्मी तथा व्यापार(ब्यवसायीले स्वतःस्फूर्त नागरिक अवज्ञा आन्दोलनमा उत्रनेछन्’, पार्टीको अभियान विभाग प्रमुख प्रमेश श्रेष्ठले भने।