जनकपुरधाम- जनकपुरधाममा बजार बन्द गराउन हिँडेका नेकपा दाहाल–नेपाल समूहको नेताकार्यकर्ता र प्रहरीबीच झडप भएको छ।
प्रहरीसँगको झडपमा नेकपा दाहाल नेपाल समूहका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री रामचन्द्र झा घाइते भएका छन्।
बजार बन्द गराउन जनकपुरधामको शिवचोक पुगेका नेताकार्यकर्तालाई प्रहरीले अवरोध गरेपछि झडप भएको थियो।
सोही क्रममा प्रहरीले गरेको लाठीचार्जबाट नेता झा घाइते भएका हुन्।
उनको टाउकोमा चोट लागेको नेकपा जिल्ला सचिव दीपक यादवले जानकारी दिए। नेता झालार्इ उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको छ।
झडपका क्रममा प्रहरीले लाठीचार्ज गर्नुका साथै एक दर्जन राउन्ड हवाई फायरसमेत गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
आन्दोलनकारीले ना १ क ५१२ नम्बरको प्रहरीको भ्यान र ज १ च १५७० नम्बरको मालसमान ढुवानी गर्ने गाडीमा तोडफोड गरेका छन्।
प्रहरीले तोडफोडमा संलग्न दर्जनौं आन्दोलनकारीलाई पक्राउ गरेको छ।