सोमबार, वैशाख ८, २०८२

क्यान्सर रोगीलाई आर्थिक भार, सरकारी सहुलियत हात्तीलाई अचार 

नेपालका ८६ प्रतिशत क्यान्सरका बिरामीले आर्थिक कठिनाइ भोग्नुपरेको तथ्यांक छ। १४ प्रतिशत बिरामीले मात्रै आफ्नो खर्च बेहोर्न सक्छन्। 
 |  बुधबार, वैशाख २९, २०७८
nespernesper

ज्योति अधिकारी

ज्योति अधिकारी

बुधबार, वैशाख २९, २०७८

vianetvianet

काठमाडौं– विपन्न नागरिकलाई क्यान्सर भइहालेमा ठूलो आर्थिक भार भोग्नुपर्ने अवस्था छ। धेरैको त भएभरको सम्पत्ति बेच्दा पनि उपचार खर्च पुग्दैन।

triton college

सामान्य रोग लाग्दा पनि खर्च सम्झेर अस्पताल जान हच्किने अवस्थाका कतिपय नेपाली क्यान्सर लागेपछि थप मानसिक तनावमा पर्ने गरेका छन्। 

सरकारले क्यान्सरका बिरामीलाई ‘विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका २०७५’ अन्तर्गत विपन्न नागरिक कोषबाट एक लाख रुपैयाँ दिँदै आएको छ। यो रकम क्यान्सर उपचारका लागि हात्तीको मुखमा जिराजस्तै हो।

नेपालका ८६ प्रतिशत क्यान्सरका बिरामीले आर्थिक कठिनाइ भोग्नुपरेको तथ्यांक छ। १४ प्रतिशत बिरामीले मात्रै आफ्नो खर्च बेहोर्न सक्छन्। 

भक्तपुर अस्पतालमा गरिएको एक अध्ययनअनुसार एक जना क्यान्सर रोगीको उपचारमा कम्तीमा नौ लाख ८१ हजार खर्च हुन्छ।

National life insurance

७३.५ प्रतिशत प्रत्यक्ष उपचार खर्च हुन्छ। बाँकी २७.५ प्रतिशत बिरामी काममा जान नसकी आम्दानीमा हुने क्षतिका कारण हुन्छ। 

नेपालमा क्यान्सरका बिरामीले ४८ देखि ६९ प्रतिशत स्वास्थ्य उपचार खर्च बिरामी आफैंले बेहोरेका छन्। बाँकी रकम ऋण र अन्य सहयोग लिएर उपचार गरिरहेको अध्ययनमा उल्लेख छ। 

मुलुकमा ५० देखि ६० हजार क्यान्सरका बिरामी रहेको अनुमान छ। क्यान्सरका कारण वार्षिक १३ हजारभन्दा बढीको मृत्यु हुने गरेको छ। नेपालमा हुने कुल मृत्युमध्ये ९ प्रतिशत क्यान्सरले ओगटेको छ।

नेपाल विकास अनुसन्धान प्रतिष्ठानले नेपाल अर्बुद रोग निवारण संस्थासँग सहकार्य गरेको अध्ययन प्रतिवेदनअनुसार अनुसार वार्षिक २० हजार ५०८ क्यान्सर रोगी थपिन्छन्। 

विश्वमा हुने कुल मृत्युको करिब १३ प्रतिशत मानिस क्यान्सरका बिरामी रहेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को तथ्यांकमा उल्लेख छ। विश्वमा क्यान्सरबाट बर्सेनि करिब ८० लाख मानिसको मृत्यु हुने गरेको विभिन्न तथ्यांकले देखाएका छन्। 

पछिल्ला वर्षमा क्यान्सरका बिरामीको तथ्यांक बढ्दै गएको छ। अर्कोतर्फ क्यान्सरका बिरामी र परिवारले बेहोर्नुपर्ने आर्थिक भार, मानसिक तथा शारीरीक समस्या पनि दर्दनाक बन्दै छ। 

‘२० लाख खर्च भइसक्यो, अब कति लाग्ने हो टुंगो छैन’

काठमाडौंका प्रशान्त श्रेष्ठ (नाम परिवर्तन) ६३ वर्षका भए। धूमपान गर्ने उनलाई फोक्सोको क्यान्सर भइसकेको रहेछ। उनले तेस्रो स्टेजमा पुगिसकेपछि मात्रै आफूलाई क्यान्सर भएको थाहा पाए। 

१२ औं चरणको केमोथेरापी गर्दासम्म २० लाख रुपैयाँ खर्च भइसकेको छ। अझै कति खर्च लाग्ने हो थाहा छैन। उनी शारीरिक र मानसिक रूपमा थकित छन्। धूमपान गरेका कारण उनलाई क्यान्सर भएको चिकित्सकले बताएका छन्। 

'अब कुन खर्चले उपचार गरी बाँच्नु?'

सर्लाहीका (हाल भक्तपुर निवासी) नारायण थारू (नाम परिवर्तन) ४९ वर्षका भए। २०७६ साउनमा उनलाई श्वासप्रश्वासको नलीमा क्यान्सर भएको पत्ता लाग्यो। खेतीकिसानीमा संलग्न थारूको आर्थिक अवस्था कमजोर छ। 

उनले जीवनको २५ वर्ष दैनिक १० देखि १२ खिल्ली चुरोट सेवन गरे। फलस्वरुप उनलाई श्वासप्रश्वास नलीमा क्यान्सर भयो। उपचारमा हालसम्म आठ लाख रुपैयाँ सकिएको छ। सरकारले दिने एक लाख पनि पाइसकेका छन्।

पाँच लाख ऋण लिइसकेका छन्। अब साहुले ऋण पत्याउन छाडेको उनी बताउँछन्। बेचबिखन गर्न पनि उनीसँग सम्पत्ति छैन।

‘कति खर्च लाग्ने हो भन्न सकिँदैन’, उनी भन्छन्, ‘आर्थिक अवस्था कमजोर भएकाले हामीलाई निकै कठिन भएको छ। अहिलेसम्म त ऋण मागेर उपचार गरेका छौं, अब कुन खर्चले उपचार गरी बाँच्नु?’ 

विशेषज्ञका अनुसार विश्वव्यापी रुपमै क्यान्सरको सबैभन्दा प्रमुख कारण सुर्तीजन्य पदार्थ सेवन हो। 

अर्बुद रोग निवारण संस्थाका कार्यवाहक अध्यक्ष महेश श्रेष्ठ सुर्तीजन्य पदार्थ सेवनबाट हुने क्यान्सरका कारण बिरामी र परिवारमा आर्थिक भारबाहेक मानसिक तनाव पैदा गर्ने बताउँछन्। 

उनी भन्छन्, ‘सुर्तीजन्य पदार्थ सेवनले लाग्ने रोगले निम्त्याउने तनावले बिरामी र परिवारको आर्थिक र मानसिक स्थिति तनावग्रस्त हुन सक्छ। उपचारका लागि लिएको ऋणको तनावले बालबालिकाको भविष्यमा समेत मानसिक असर पर्छ।’ 

सबैभन्दा बढी लाग्ने क्यान्सर

अहिलेसम्म १०० भन्दा बढी क्यान्सरका प्रकार पत्ता लागिसकेका छन्। डब्ल्यूएचओको तथ्यांकअनुसार विश्वव्यापी रुपमा सबैभन्दा बढी क्यान्सरका कारण मृत्यु गराउने क्यान्सरको प्रमुख पाँच प्रकारमा पुरुष र महिलामा फरकफरक छ।

फोक्सो, प्रोस्टेट, ठूलो आन्द्रा, मलद्वार, आमाशय र कलेजोको क्यान्सर पुरुषमा लाग्ने क्यान्सरका प्रमुख रूप हुन् भने महिलामा चाहिँ पाठेघरको मुख, स्तन, ठूलो आन्द्रा, मलद्वार, फोक्सो क्यान्सर मुख्य रुपमा लाग्ने क्यान्सर हुन्।

त्यसो त विकासोन्मुख देशमा मृत्युको मुखमा महिलाहरुलाई धकेल्ने सबैभन्दा प्रमुख क्यान्सरचाहिँ पाठेघरको मुखको क्यान्सर छ।

क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्र बरालका अनुसार ३० देखि ५० प्रतिशतसम्म क्यान्सर रोक्न सकिन्छ। 

किन हुन्छ क्यान्सर?

क्यान्सर हुने खास कारण पत्ता नलागे पनि आधाजसो क्यान्सर खानपानका कारणले लाग्छ। यीमध्ये धेरैजसो क्यान्सर बोसोयुक्त मासु र पोलेको मासु खाँदा तथा धूमपान र मदिरा सेवनका कारण लाग्छ। 

नेपालमा भने पुरुषमा मुख र घाँटीको क्यान्सरका बिरामी बढी छन् भने महिलामा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरका बिरामी बढ्दै गएको विशेषज्ञ डा. बराल बताउँछन्। 

सरकारले सुर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरणमा कडाइ गर्ने नियम ल्याए पनि यस्ता पदार्थको सेवनको दर बर्सेनि बढिरहेको नेपाल अर्बुद रोग निवारण संस्थाका महासचिव विमल होडा बताउँछन्। 

ढिलो विवाह गर्ने र ढिलो सन्तान जन्माउने महिलामा महिलामा स्तन क्यान्सर बढी देखिएको छ। कसैकसैलाई वंशाणुगत रूपमा पनि स्तन क्यान्सर हुन्छ। ३० वर्षपछि विवाह गरेका महिलामा स्तन क्यान्सरको जोखिम बढी देखिएको चिकित्सक बताउँछन्। 

गरिबी, कम उमेरमा विवाह, धेरै सन्तान र सरसफाइमा ध्यान नदिँदा पाठेघरको क्यान्सर  हुने डा. बराल बताउँछन्। 

यस्तै असुरक्षित यौन सम्पर्क र धेरै सन्तान जन्माउँदा पाठेघरको मुखमा चोट लागेर संक्रमण बढेमा क्यान्सरको सम्भावना हुन्छ।

क्यान्सरले जुनसुकै उमेर समूहलाई प्रभावित पार्छ। ‘यसको उमेर समूह हुँदैन’, डा. बराल भन्छन्, ‘समयमै उपचार गरे निको हुने भए पनि ढिलो मात्र स्वास्थ्य संस्थामा जाने प्रवृत्तिले धेरैले क्यान्सरबाट ज्यान गुमाउन बाध्य छन्।’

अस्पताल ढिला पुग्दा समस्या 

समयमै रोग पत्ता लागे क्यान्सर निको हुने चिकित्सक बताउँछन्। अझै पनि क्यान्सरका कारण जटिल समस्या देखिएपछि मात्र बिरामी उपचारका लागि अस्पताल पुग्ने गरेका छन्।

जति ढिला डाइग्नोसिस भयो, त्यति क्यान्सरका बिरामीको मृत्यु हुने दर बढ्न सक्ने चिकित्सक बताउँछन्।

रोगको पहिचान र स्वास्थ्य सचेतनामा विशेष ध्यान नदिने हो भने भविष्यमा क्यान्सरले धेरैलाई सताउन सक्ने बराल बताउँछन्।

डा. बरालका अनुसार क्यान्सर पहिलो स्टेज (जुन अंगमा क्यान्सर भएको छ, त्यही अंगमा मात्र सीमित) मा छ भने त्यस्तो क्यान्सर निको हुने सम्भावना ८० प्रतिशतसम्म हुन्छ।

स्टेज दुई (उक्त क्यान्सर केही ठूलो हुनुका साथै झन्डैझन्डै बाहिर फैलिने अवस्थामा पुग्छ) मा छ भने निको हुने सम्भावना झन्डै ५० प्रतिशत हुन्छ।

क्यान्सर स्टेज तीन (क्यान्सर बाहिर फैलिए पनि धेरै टाढा पुगेको हुँदैन) मा अस्पताल पुगेका बिरामीमा क्यान्सर रोग निको हुने सम्भावना २० देखि २५ प्रतिशतसम्म मात्र हुन्छ।

स्टेज चार (क्यान्सर एउटा अंगबाट अर्को अंगमा फैलिसक्ने अवस्था) मा पुगेका बिरामी प्रायः निको हुँदैनन्। 

क्यान्सरका लक्षण 

निरन्तर खोकी खोकी वा धोत्रो स्वर हुनु

कोठीको रङ र आकारमा परिवर्तन देखिनु

स्तन वा शरीरका अन्य भागमा दुख्नु वा नदुख्ने गिर्खा आउनु 

दिसापिसाब गर्ने समय परिवर्तन भइरहनु

असाधारण रक्तस्राव हुनु

खाना निल्न कठिन हुनु 

अपच हुनु

पुरानो घाउ निको नहुनु

विना कारण वजन घट्नु

प्रकाशित: May 12, 2021| 09:25 बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्