काठमाडौं- सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस जारी छ। सोमबारदेखि सरकारी पक्षले बहस गरिरहेको छ।
अहिलेसम्म महान्यायाधिवक्ता अग्निप्रसाद खरेल र वरिष्ठ अधिवक्ता सुशील पन्तले बहस सकेका छन्। बुधबारदेखि बहस सुरु गरेका नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेले आज पनि बहस गरिरहेका छन्।
इजसालमा आजको बहसका क्रममा उनले प्रधानमन्त्रीले चाहेमा प्रतिनिधिसभा विघटन गर्नसक्ने जिकिर गरेका छन्। ‘विकल्प होस् वा नहोस्, बहुमत होस् कि नहोस् त्यो मतलब हुँदैन श्रीमान् ! प्रधानमन्त्रीले चाहे भने प्रतिनिधिसभा विघटन गर्न सक्छन्,’ उनले भने।
उनले पार्टीभित्रका मान्छेलाई ‘तह' लगाउन र राजनीतिक फाइदाका लागि संसद् विघटन गर्न पाउने बताए।
‘अहिलेभन्दा बढी मत आउँछ भन्ने लाग्यो भने पनि विघटन गर्न पाउँछ,’ उनले भने, ‘संसारका बेलायत, स्वीडेन, श्रीलंका, इजरायल, भारतमा पनि यसका उदाहरण छन्।
बुधबारदेखि बहसका क्रममा अन्तर्राष्ट्रिय अभ्यासका बारेमा मात्रै उदाहरण प्रस्तुत गरिरहेका उनलाई बिहीबार पनि त्यसकै निरन्तरता भएपछि इजलासबाट न्यायाधीशले अब नेपालतिर लागौं भन्दै राेक्न खाेजेका थिए।
त्यसपछि उनले अब म नेपालतर्फ प्रवेश गर्छु भन्दै बहस निरन्तर जारी राखेका छन्।