पोखरा- बन्द र हडतालबाट आजित भएका नेपाली फेरि अर्को बन्द खेप्न वाध्य भएका छन्।
प्रतिनिधिसभा विघटन र त्यसपछि संवैधानिक अंगमा भएका नियुक्तिको विरोधमा नेपाल कम्युनिस्ट पार्टी नेकपाको दाहाल–नेपाल समूहले बिहीबारका लागि मुलुकभर आमहड्ताल गरेको छ।
आमहडतालको असर पोखरा र आसपासका जिल्लामा परेको छ। गण्डकीका ११ वटै जिल्लामा शैक्षिक संस्थाहरू खुलेका छैनन्।
बिहानैदेखि सदरमुकामहरूमा प्रदर्शनकारी उत्रेका छन्। कतिपय ठाउँमा प्रहरीले प्रदर्शनकारीलाई पक्राउ गरेको छ।
पोखराको महेन्द्रपुलबाट प्रहरीले बिहान विनायक तिमिल्सिनालाई पक्राउ गरेको छ।
तनहुँको दमौलीबाट प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, गन्डकी प्रदेश सदस्य मदन आले, अतिन्द्रकेशरी न्यौपाने, व्यास नगर अध्यक्ष श्रीराम कार्की, राष्ट्रिय युवा संघ तनहुँका अध्यक्ष ईश्वर बस्यालसहित १६ जना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ।
पोखरामा बैंक तथा वित्तीय संस्थाले बाहिरको सटर नखोली आन्तरिक रुपमै काम गरेका छन्। एटिएम काउन्टर भने सबैजसोका खुला छन्।
सरकारी कार्यालय खुले पनि सेवाग्राही देखिएका छैनन्। बजारमा निजी गाडी र मोटरसाइकल चलेका छन्। भित्री बाटोहरूमा ट्याक्सी पनि फाटफुट रुपमा चलेका छन्।
मुख्यबजार बाहेकका ठाउँमा पसल पनि खुलेका छन्। किराना पसल भने सबैतिरका खुलेका छन्। भाटभटेनी, सेलवेजजस्ता डिपार्टमेन्टल स्टोर्स खुलेका छैनन्।
बन्दकर्ता नेता तथा कार्यकर्ता पक्राउ परे पनि अप्रिय घटना भने नभएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।
बिहान १० बजेतिर ओली समूहका युवाहरूले पोखराको मुख्य सडकमा युवा संघका झण्डासहित मोटरसाइकल जुलुस निकालेका छन्।