काठमाडौं- नेकपाको दाहाल–नेपाल समूहले आह्वान गरेको आमहड्तालका क्रममा प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट ७८ जनालाई नियन्त्रणमा लिएको छ।
आगजनी, तोडफोडलगायतका अराजक गतिविधि गर्ने ७७ जनालाई अहिलेसम्म नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसपी शुसिलसिंह राठोरका अनुसार अहिलेसम्म नियन्त्रणमा लिएकामध्य स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यसहितका नेता कार्यकर्ता रहेका छन्।
शाक्यलाई बिहान कालिमाटी क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
‘अहिलेसम्म एक ट्याक्सीमा आगजनी र केही सवारी साधनमा तोडफोड भएको अवस्था छ’, उनले भने, ‘शान्तिपूर्ण भइरहेको ठाउँमा हामीले अवरोध गरेका छैनौं। जहाँ आगजनी, तोडफोडलगायतका अराजक काम भइरहेको छ। नियन्त्रणमा लिने काम भइरहेको छ।’
गृहमन्त्रालयले बुधबार साँझ नै विज्ञप्ति जारी गरेर तोडफोड, आगजनीलगायतका गतिविधि भए जो कोहीलाई पनि नियन्त्रणमा लिएर कारबाही गर्ने प्रष्ट पारेको थियो।
गृहमन्त्रीले पनि सुरक्षाकर्मीहरुलाई निर्देशन दिँदै अराजक गतिविधिमा संलग्न हुने जो कोहीलाई पक्राउ गर्न निर्देशन दिएका थिए।
प्रहरीले उपत्यका भित्रिने सवारी साधनहरुलाई स्कटिङ गरेर ल्याउने व्यवस्था गरेको छ।
उपत्यकाका विभिन्न आठ स्थानमा नेकपाका शिर्ष नेतासहितका कार्यकर्ता आमहड्ताल सफल पार्न खटिएका छन्।
आमहड्तालका क्रममा छिटपुट रुपमा सवारीसाधन चलेका छन् भने केही स्थानमा बजार व्यवसाय पनि खुलेका छन्।