शुक्रबार, भदौ १९, २०८३

सल्यानमा १५० वर्ष पुरानो समाधिस्थलका विषयमा विवाद

सल्यानमा समाधिस्थलको विषयमा स्थानीयवासीबीच विवाद उत्पन्न भएको छ। 
 |  बिहीबार, माघ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २२, २०७७

सल्यान– सल्यानमा समाधिस्थलको विषयमा स्थानीयवासीबीच विवाद उत्पन्न भएको छ। 

बागचौर नगरपालिका ९ जलेखर्कमा १५० वर्ष पुरानो समाधिस्थलका विषयमा पछिल्लो समयमा विवाद बढ्न थालेको हो। 

दशनामी जातिले प्रयोग गर्दै आएको समाधिस्थलका विषयमा सोही ठाउँमा समाधि बनाउने की सार्ने भन्ने विषयमा स्थानीयवासी दुई पक्षमा विभाजित भएपछि गाउँमा सामाजिक सम्बन्धसमेत बिग्रन थालेको छ। 

गाउँमा रहेका एक पक्षले डेढ दशकदेखि प्रयोग गरिरहेको पृतिकोटमा रहेको समाधिस्थल कायमै राख्ने भन्दै आएको छ भने अर्को पक्षले समाधिस्थल गाउँभन्दा टाढा बनाउनुपर्ने अडान राख्दै गएपछि विवाद चुलिँदै जान थालेको छ। 
    
जलेखर्कमा अधिकांश परिवार दशनामी समुदायका भएकाले आफ्नो संस्कारअनुसार शव अन्त्येष्टिका लागि नजलाएर चिहान बनाएर समाधिष्ट गर्ने प्रचलन रहेको स्थानीयवासी चन्द्रबहादुर कवरले जानकारी दिए। 

‘हाम्रो पुर्खाको यसै पितृकोटमा समाधि छन्, हामी पनि मृत्युपछि यही बस्ने हो’, कवरले भने, ‘हाम्रो घर अस्थायी हो, यो चिहान नै हाम्रो स्थायी घर भएकाले मृत्युपछि हाम्रो पुर्खासँग नै हामीपनि बस्न चाहन्छौँ।’
    
स्थानीयको विवादपछि आफूहरुले सोही स्थानमा अमिन बोलाएर चिहानका लागि जग्गा छुट्याएको उनले बताए। उनले भने, ‘अहिले पनि हामीले आफ्नो ठाउँमा समाधि बनाउन नपाउने यो कस्तो अन्याय हो, जब यहाँ कसैको मृत्यु हुन्छ, यो ठाउँमा चिहान नबनाउनु होला भनेर त्यो घरमा चिट्ठी भेटिन्छ।’ मानिसलाई एक अकल्पनीय दुःख परेको बेला छिमेकीले छोडेको यस्तो पत्रले झनै दुःखी बनाउने गरेको उनको भनाइ छ।
    
अर्को पक्षले भने चिहान भएको ठाउँ आसपासमा अहिले बस्ती विस्तार हुँदै गएकाले आफूहरुलाई समस्या भएको बताएको छ। पुर्खौंदेखि यस स्थानमा मानिसको समाधिष्ट गरिँदै आए पनि अब भने बस्ती विस्तार हुन थालेपछि स्थानान्तरण गर्नुपर्ने स्थानीय खिमावली गिरीले बताए। 

घर नजिकै रहेको चिहानस्थलमा शव ल्याउँदा महिला र बालबालिकालाई डर तथा त्रास हुने गरेको उनको भनाइ छ। चिहानसम्बन्धी विवाद इलाका प्रहरी कार्यालय थारमारे, वडा कार्यालय हुँदै नगरपालिकासम्म पुगेको छ। सम्बन्धित सरोकारवालाले पटक–पटक दुवै पक्षबीच सहमति गराए पनि कार्यान्वयन भने हुन सकेको छैन।
 –रासस 

प्रकाशित: Feb 04, 2021| 01:51 बिहीबार, माघ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।