काठमाडौं- गृह मन्त्रालयले भोलि २२ गते नेकपाको दाहाल–नेपाल समूहले गरेको आम हड्तालका दिन निर्धक्क आफ्नो पेशा व्यवसाय गर्न आम नागरिकलाई आग्रह गरेको छ।
मन्त्रालयले आज (बुधबार) साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै दैनिक रूपमा सञ्चालित उद्योग, पेशा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिने गरी सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइने हुँदा यातायात व्यवसायीलगायत सबै उद्यमी व्यवसायीहरुलाई निर्धक्क एवम् पूर्ववत् रूपमा आ–आफ्नो उद्योगधन्दा पेशा व्यवसाय सञ्चालन गर्न अनुरोध गरेको छ।
मन्त्रालयले मन्त्रालयले आम नागरिकबाट प्रचलित कानूनको पालना गरी शान्ति सुव्यवस्था कायम गराउने कार्यमा सदाझै निरन्तर सहयोगको लागि समेत अनुरोध गरेको छ।
मन्त्रालयले नेकपाको नाममा भोलि हड्ताल र आज राँके जुलुस गर्ने भनी सार्वजनिक गरिएको वक्तव्यमा ध्यानाकर्षण भएको जनाएको छ।
मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को नामबाट विविध विषयहरू उठाई आज मिति २०७७।१०।२१ गते साँझ मसाल जुलुस र भोलि २०७७।१०।२२ गते देशव्यापी आमहडताल आव्हान गरिएको भनी सार्वजनिक भएको प्रेस वक्तव्य उपर गृह मन्त्रालयको ध्यानाकर्षण भएको छ।’
साथै मन्त्राललयले नेपालको संविधान तथा प्रचलित कानून विपरित शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी, आम सर्वसाधारण नागरिकले प्रयोग गर्ने सार्वजनिक यातायात सञ्चालनमा अवरोध लगायतका वेशात्मक एवं अवाञ्छित गतिविधि नगर्न नगराउन तथा संविधान प्रदत्त हकको निर्वाध उपभोग गर्न पाउने नागरिकको अधिकारको सम्मान गर्न सम्बद्ध पक्षसँग अनुरोध गरेको छ।
‘शान्ति सुरक्षामा खलल पुग्ने गरी तोडफोड, आगजनी र जवरजस्ती लगायतका अवाञ्छित गतिविधि गरेको पाइएमा त्यस्ता गतिविधिमा संलग्न हुने उपर कानून बमोजिम कारबाही हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ।’ मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
