पोखरा- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् लोकतान्त्रिक खेलकुद संघका विभागीय प्रमुख मोहनबहादुर बस्नेतले निष्क्रिय रहेको नेपाल लोकतान्त्रिक खेलकुद संघ अब जाग्ने बताएका छन्।
पोखरामा बुधबार केन्द्रीय पदाधिकारी, प्रदेश तथा जिल्ला संयोजक घोषणा कार्यक्रममा तथा पूर्व सञ्चारमन्त्री रहेका बस्नेतले भने, ‘केही प्राविधिक कारणले निष्क्रिय रहेको संघ अब जाग्छ’, उनले भने, ‘संघले अब प्रदेश र जिल्ला तहमा कार्यक्रम अगाडि बढाउने छ।’ नेपाली कांग्रेसका केन्द्रीय समिति सदस्यसमेत रहेका बस्नेतले द्रुत गतिमा खेल गतिविधि अगाडि बढाउँदै युवालाई आराम गर्नेसमेत फुर्सद नदिने बताए।
युवालाई कांग्रेसले समेट्न नसकेको आरोप रहेको भन्दै उनले यो आरोपलाई चिर्न युवालाई खेलको क्षेत्रबाट समेट्ने उनले बताए। वडावडामा प्रशिक्षक पठाएर हजारौं प्रशिक्षकलाई रोजगार दिने आफूहरुको योजना रहेको उनले सुनाए।
संघलाई भ्रातृ संस्थाका रुपमा अगाडि बढाएर घोषणा भएको समितिको पूर्ण समर्थन जनाउँदै हरेक कार्यक्रममा अघिपछि भएर हिँड्ने उनको भनाइ छ।
एक फरक प्रसंगमा उनले कम्युनिस्ट सरकारले खेल क्षेत्रमा भ्रष्टचार गरेको आरोप लगाए। हरेक क्षेत्रमा भ्रष्टचार गरेको कम्युनिस्ट सरकारले खेलकुद क्षेत्रलाई पनि नछोडेको उनको भनाइ छ।
‘कुनै पनि सहयोग दिन सरकारको अनुमति लिनुपर्छ’, उनले भने, ‘यो सरकारले स्वीकृति बिना सहयोग लिन पाउने नियम बनाएको छ।’
संयोजक घोषणा भइसकेपछि उनीहरुले नै पालिका र वडा संयोजक घोषणा गर्ने अध्यक्ष देवेन्द्रकुमार शेरचनले जानकारी दिए।
खेलकुद क्षेत्रमा भएको विकृति विसंगति हटाउनका लागि लोकतन्त्रप्रेमी खेलाडीलाई समेट्दै २०७१ सालमा लोकतान्त्रिक खेलकुद संघको स्थापना भएको थियो। संघले स्थापना भएदेखि नै खेलकुद क्षेत्रको विकासमा उल्लेखनीय भूमिका खेल्दै आएको उनको भनाइ थियो।
संघको केन्द्रीय कार्य समितिको उपाध्यक्षमा विजेन्द्र हमाल (नेपालगन्ज), महासचिव सुबाेध प्रधान (चितवन), सचिव वीरबहादुर खड्का (सिन्धुपाल्चोक), बखतबहादुर शाही (हुम्ला), मनीष जोशी (काठमाडौं) र कोषाध्यक्ष दशरथ रिमाललाई मनोनीत गरेको छ।
सदस्यहरुमा दानबहादुर पाल (डडेल्धुरा), सूर्यबहादुर खड्का (सिन्धुपाल्चोक), हरिबहादुर विष्ट (सुर्खेत), तिलकराम पौडेल (स्याङ्जा), जगत तामाङ (बर्दिया), वीरबहादुर खड्का (सिन्धुपाल्चोक), रवि महर्जन (ललितपुर), पञ्चबहादुर तामाङ ‘विजय’ (काठमाडौं), बच्चन कार्की, पंकज पाण्डे (बारा), जयगोपाल श्रेष्ठ (नवलपरासी), छिरिङ फिन्जु लोप्चन (रसुवा), अमर पुन (रुपन्देही), मीनबहादुर घले (नवलपुर), राजीव बस्नेत (काठमाडौं), मनराम शाही (कालिकोट), राजेश गुरुङ (कास्की), देव कोइराला (सिन्धुपाल्चोक), विश्व गुरुङ (स्याङ्जा), श्याम विष्ट (कैलाली), राजेशमान श्रेष्ठ (सुनसरी), शेरजंग गुरुङ (तनहुँ), थमन गुरुङ (संखुवासभा), नेपाल कार्की (रौतहट), सरोज सिंह (बझाङ), धरम लामिछाने (कास्की) र डम्बर लिम्बु (ताप्लेजुङ) लाई मनोनीत गरेको छ।
संघले बुधबार ७ प्रदेशका संयोजक पनि घोषणा गरको छ। प्रदेश १ वसन्तराज अर्याल, प्रदेशमा २ मा बैजनाथ यादव, बागमतीमा दीपक गुरुङ, गण्डकीमा हरिश्वर पोखरेल, लुम्बिनीमा नरेन्द्र थापा, कर्णालीमा हरिबहादुर विष्ट र सुदूरपश्चिममा श्याम विष्टलाई मनोनित गरिएको छ।