काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भूमिहीन सुकुम्बासीको समस्या समाधानका लागि पहिलोपटक प्रधानमन्त्री भएका बेला काम गर्न खोज्व्दा माधव नेपालले अवरोध गरेको आरोप लगाएका छन्।
नेपाल भूमिहीन सुकुम्बासी संगठन केन्द्रीय कमिटीले बुधबार आयोजना गरेको राष्ट्रिय भेलामा सम्बोधन गर्दै ओलीले यस्तो आरोप लगाएका हुन्।
‘पहिलो पटक प्रधानमन्त्री हुँदा सुकुम्बासी समस्या समाधान गर्न खोजेको थिएँ, माधव नेपालले हुनै दिएनन्,’ उनले भने, ‘२०७२ मा आयोग बनायौं। तर नेपालले एउटा वकिललाई मुद्दा हाल्न लगाए। काम गर्न पाइएन।’
सरकारले हालै भूमिहीन सुकुम्बासीको समस्या समाधानका लागि आयोग गठन गरेको छ। आयोग गठन गर्न सरकारलाई तीन वर्ष लागेको उनको भनाइ छ।
‘माधव नेपालले पार्टी छोडेर गएपछि देशैभर आयोगले पूर्णता पायो, पार्टीमा हुन्जेल उनले कामै गर्न दिएनन्,’ उनले भने।
प्रधानमन्त्री ओलीले सहभागीलाई 'हाजिरीजवाफ गरौं एकछिन' भन्दै ‘आयोगलाई कामै गर्न नदिने नेता को?’ भनेर सोधेका थिए।
सहभागीले ‘माधव नेपाल’ भन्ने जवाफ दिएपछि ओलीले ‘हो, उनले नै अहिलेसम्म काम गर्न नदिएको’ बताएका थिए।
ओलीले भने, ‘मैले नेपालमा छलफल–छलफल मात्रै भन्ने नेता तीनजना भेटेको छु। ती भनेका माधव नेपाल, नारायणकाजी श्रेष्ठ र घनश्याम भुसाल हुन्।’
उनीहरुको काम जे कुरामा पनि छलफल–छलफल भन्दै रटान लगाउने मात्रै भएको ओलीको भनाइ छ।
प्रधानमन्त्री ओलीले अब आयोगको काम तीव्र रुपमा अघि बढ्ने र दुई वर्षभित्रमा बसोबासको समस्याको अन्त्य हुने दाबी गरे।
दाहाल नेपाल समूहले बिहीबार आह्वान गरेको आमहडल प्रति लक्षित गर्दै प्रधानमन्त्रीले नेपाल बन्द गरेर जनतालाई किन दुःख दिनुपरेको भन्दै प्रश्न गरे। उनले भने, ‘पार्टी छोडेर अर्कैतिर लाग्छन् अनि नेपाल बन्द गर्दै हिँड्छन्। केका लागि गर्नुपर्यो बन्द?’