काठमाडौं - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले असंवैधानिकरूपमा संवैधानिक निकायमा गरिएका नियुक्तिले संविधानको खिल्ली उडाएको बताएका छन्।
संवैधानिक निकायमा नियुक्त पदाधिकारीले शपथ लिएपछि सिंहले विज्ञप्ति जारी गरेर गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्।
उनले संसदीय सुनवाइ समिति नै नभएका बेला संविधानको खिल्ली उडाउँदै गरिएको नियुक्तिले प्रधानमन्त्री केपी शर्मा ओलीको नियत प्रस्ट भएको बताएका छन्।
‘असंवैधानिकरूपमा संवैधानिक आयोगहरूमा गरिएको नियुक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको छ। संसदीय सुनुवाइ समिति नै नभएका बेला संविधानको खिल्ली उडाउँदै गरिएको नियुक्तिले प्रधानमन्त्रीमा अन्तरनिहित म नै संविधान हुँ भन्ने दम्भ उजागर भएको छ,’ सिंहले भनेका छन्।
उनले संवैधानिक परिषद्को अध्यक्ष समेत रहेका ओलीसहितको कोरम नपुगेको बैठकले गरेको सिफारिस नै असंवैधानिक भएको बताएका छन्। सोही कारण नियुक्त पदाधिकारीको शपथ असंवैधानिक सिफारिसलाई मान्यता दिनका लागि गरिएको अर्को असंवैधानिक कदम भएको बताएका छन्।
‘संविधानलाई मिचेर अघि बढ्ने सरकारको अधिनायकवादी आकांक्षाको जति निन्दा गरे पनि कम हुन्छ। सात दशक लामो संघर्ष र ठूलो बलिदानीबाट प्राप्त उपलब्धिका रूपमा रहेको संविधान सरकार र सरकारमा रहनेहरूको असंवैधानिक कार्य र मनपरितन्त्रका कारण संकटमा परेको छ,’ उनले भनेका छन्, ‘अब पनि सचेत नहुने हो भने देश गम्भीर संवैधानिक र राजनीतिक दुर्घटनामा पर्ने निश्चित छ।’
सरकारले संविधान मिचेर गरिरहेको असंवैधानिक सिफारिस, नियुक्ति, विचौलियाहरूलाई नियम मिचेर दिइएका ठेक्कापट्टा र राज्यस्रोतको दोहनले सीमा नाघिसकेको उनको भनाइ छ।
अनावश्यक नियुक्ति र राज्यस्रोतको दुरुपयोग गर्दै ज्ञानेन्द्र शैलीमा गरिएका सभासम्मेलन देशलाई अस्थिरतातर्फ धकेल्न उद्दत देखिएको सिंहले जनाएका छन्।
संविधानको रक्षा गर्न र राज्यको ढुकुटीमाथिको ब्रह्मलुट रोक्नमा लागि सबैलाई सचेत र जागरुक रहन उनले अपिलसमेत गरेका छन्।