कर्णाली– कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले कानून निर्माणका सन्दर्भमा प्रतिनिधिसभाभन्दा प्रदेशसभा अगाडि रहेको दाबी गरेका छन्।
प्रदेशसभा स्थापनाको दोस्रो वार्षिकोत्सवमा आयोजित अन्तरक्रियामा उनले कानून निर्माणसँगसँगै विधेयक जनतामाझ लैजाने अभ्यासको शुरुआत प्रदेशसभाले गरेको बताए।
सभामुख शाहीले विधेयकको मस्यौदाबारे सरोकारवालामार्फत आमजनता माझ लैजाने प्रचलन प्रदेशसभाबाटै सुरु भएको दाबी गरे। ‘जनतासँग प्रत्यक्ष सरोकार राख्ने विधेयकलाई विभिन्न जिल्लामा पुगेर जनताको राय लियौँ र जनताको सुझाव अनुसार ऐन–निर्माण गरेका छौँ’, उनले भने, ‘सकेसम्म प्रदेशसभालाई खुला संसद्को रुपमा विकास गर्न लागेका छौँ। प्रदेशसभामा जनताको पहुँच बढाउन विभिन्न प्रयास गर्दै आइरहेका छौँ।’
प्रदेशसभा सचिवालयका उपसचिव तेजप्रकाश जोशीले दोस्रो वार्षिकोत्सवको पूर्वसन्ध्यामा ब्याडमिन्टन प्रतियोगिता, कुर्सी दौड, घैँटो फोड्ने खेल आयोजना गरेको जानकारी दिए।
ब्याडमिन्टन प्रतियोगितामा प्रथम गणेशप्रसाद देवकोटा र झुपलाल ढकाल, द्वितीय पदमप्रसाद चालिसे र फुन्जोक लामा, नृपबहादुर रावल, हरिबहादुर बुढाको टिमले तृतीय स्थान हासिल गरेको छ। कुर्सी दौडमा चन्दन वीसी र घैँटो फोड्नेमा हरिराम थारु विजयी भएका छन्।