पोखरा– स्कुले बालबालिकाले कोरोनाकाल झल्काउने अवस्थालाई चित्रकलामार्फत व्यक्त गरेका छन्।
अभिभावकले आफ्ना बाबुनानीले सिर्जना गरेको चित्रकला अवलोकन गरेर सामूहिक कला प्रदर्शनीको उद्घाटन गरे।
कोरोनाको विश्वव्यापी महामारीले आक्रान्त समयमा ‘विश्वका लागि प्रार्थना’ गरौं भन्ने सन्देश दिन विद्यार्थीले एक्रिलिक, क्रेपर्स र पानी रङको माध्यमबाट आफ्ना अभिव्यक्ति दिएका छन्।
अन्नपूर्ण गाउँपालिकास्थित भूमे आधारभूत विद्यालय, बिरेठाँटी माध्यमिक विद्यालय, भगवती माध्यमिक विद्यालय र पोखराको जनप्रिय माध्यमिक विद्यालयमा अध्ययनरत १८ जना विद्यार्थीका ३६ चित्रकला प्रदर्शनीमा राखिएका छन्।
कक्षा ७ देखि १२ सम्मका आइतसुवा विक, अलिसा तामाङ, अनमोल पुन, अन्तिम रत्न, विनी राई, विशाल चपाई, मनिका तामाङ, नवीन परियार, प्रदीप आचार्य, रोशनी परियार, शोभा परियार, सविता परियार, सुमिना आले, सागर विक, सुमिता परियार, सलिना परियार, सपना पुन र उषा सुवेदीले पुनहिलदेखि लुम्बिनीसम्म पुगेर कला बनाएका थिए।
पोखरा खहरेस्थित जिरो ग्यालरी क्याफे, कोरियन नेपाली रेस्टुरेन्टमा बिहान १० बजेदेखि माघ २४ गते शनिबारसम्म प्रदर्शनी रहनेछ।
आयोजक राधा जुङ र विकास घले गुरुङले विद्यार्थीका सन्देशमूलक चित्रकला प्रदर्शनी गर्दा अरूलाई पनि प्रेरणा मिल्ने बताए।
अन्नपूर्ण ड्रोइङ ड्रिम टिमका ७४ वर्षे कला शिक्षक कु ह्युन किमले कोरोनाकालीन समयमा विद्यार्थीले बनाएका चित्र पोखरामा प्रदर्शन गर्न पाउँदा आफ्नो सपना साकार भएको बताए।
सहज अवस्था भएपछि कोरियामा प्रदर्शन गर्ने योजना रहेको किमले जानकारी दिए। नेपाली कला प्रवद्र्धनमा सक्रिय उनी कोरियाका प्रसिद्ध लेखक र कलाकार हुन्।
किमले यसअघि सन् २०१७ मा सिओलको लमेर आर्ट ग्यालरीमा १२ जना विद्यार्थीका १२० वटा कला १० दिनसम्म प्रदर्शन गरे।
विद्यार्थीलाई कोरियामा लगेर उनले नेपाली सांस्कृतिक कार्यक्रम पनि गरेका थिए। अभिभावकलाई माउ बाख्रा, जाडोमा विद्यार्थीलाई न्यानो कपडा, विद्यालय पोसाक र शैक्षिक सामग्री वितरणमा बर्सेनि सघाउँदै आएका किमले भ्रमण भिसामै समाजसेवा गरेका छन्।
भूमे आधारभूत विद्यालयका प्रधानाध्यापक तेज शर्माले भने, ‘किमको कदम सराहनीय छ।’

सुदामेमा उनले अन्नपूर्ण आर्ट ग्यालरी स्थापना गरेका छन्। विपन्न विद्यार्थीलाई चित्रकलाको प्रशिक्षण दिएर प्रतिभा प्रस्फुटन गराउन उनको योगदान छ।
परिचय डट कमका सञ्चालक सोबित बस्यालले कोरोनाकालीन नवसमान्य अवस्थामा पोखराको पर्यटन र पेन्टिङको प्रमोसन गर्न कला प्रदर्शनीलाई प्रवद्र्धन गरेको बताए।