आइतबार, असोज ४, २०८३

भारतले निर्यात खुला गरेपछि प्याज आयात बढ्यो

गत भदौ अन्तिमदेखि भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्ध खुला गरेसँगै नेपालमा प्याजको आयात सहज भएको छ।
 |  मंगलबार, माघ २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २०, २०७७

काठमाडौं– गत भदौ अन्तिमदेखि भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्ध खुला गरेसँगै नेपालमा प्याजको आयात सहज भएको छ। पुस तेस्रो सातादेखि प्रतिबन्ध फुकुवा भएपछि आयात बढेको हो।

देशकै ठूलो तरकारी बजार कालिमाटी फलफूल तथा तरकारी बजारमा भएको आयातबाट नेपालमा प्याजको आयात सहज भएको र आयात बढेको देखिन्छ।

गत भदौ अन्तिम साता भारतले निर्यात रोकेपछि असोजमा कालिमाटी तरकारी बजारमा ७७५ टन प्याज आयात भएको थियो। तर, पुस तेस्रो सातादेखि प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएसँगै पुसमा मात्रै २ हजार ९९ टन प्याज आयात भएको छ।

कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका प्रवक्ता विनय श्रेष्ठले भारतले निर्यातमा लगाएको प्रतिबन्ध हटाएसँगै प्याज आयात सहज भएको बताए।

‘भारतले प्रतिबन्ध लगाएपछि पनि अलिअलि आयात भइराखेको थियो। पोहोर सालको जस्तो ठप्प नै त यसपालि भएको थिएन,’ उनले भने, ‘पछिल्लो समय आयात सहज भएको छ।’ भारत सरकारले गत वर्ष पनि आन्तरिक आपूर्ति व्यवस्थापन गर्नका लागि भन्दै प्याज निर्यातमा रोक लगाएको थियो।

कालिमाटी तरकारी बजार व्यवस्थापन समितिका अनुसार त्यहाँ आयात हुने प्याजमध्ये ९० प्रतिशतजति भारतबाट आयात हुने गरेको छ। ३ देखि ५ प्रतिशत चीनबाट र र बाँकी प्याज नेपालको आन्तरिक उत्पादनसहित विभिन्न स्रोतबाट आउने गरेको छ।

चालू आर्थिक वर्षको साउनदेखि पुससम्म कालिमाटी बजारमा ९ हजार ६८४ टन प्याज आयात भएकोमा भारतबाट ९ हजार १३०  टन र चीनबाट २०८ टन आयात भएको छ। 

गत आर्थिक वर्ष २०७६–०७७ मा कालीमाटी तरकारी बजारमा भारतबाट २४ हजार २७२ टन र चीनबाट १ हजार ७२० टन प्याज आयात भएको थियो।

प्रकाशित: Feb 02, 2021| 10:24 मंगलबार, माघ २०, २०७७
प्रतिक्रिया दिनुहोस्