काठमाडौं - प्रतिनिधिसभा विघटनपछि पहिलोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक डाकेका छन्।
भोलि (बुधबार) साँझ ५ बजेका लागि बैठक डाकेको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका प्रेस संयोजक अशोक पौडेलले जानकारी दिए।
यसअघि मंसिर २९ गते अध्यादेश ल्याएर मंसिर ३० मा विभिन्न ३८ पदमा परिषद्ले नियुक्तिको सिफारिस गरेको थियो।
संवैधानिक परिषद्मा पहिला गणपूरक संख्याका लागि अध्यक्ष र अन्य चारजना उपस्थित हुनुपर्ने कानुनी प्रबन्ध थियो।
ओलीले तत्काल कायम रहेका सदस्यको बहुमतबाट निर्णय हुन सक्ने प्रावधान राखेर अध्यादेश जारी गरेपछि मंसिर ३० गते विभिन्न संवैधानिक निकायमा नियुक्तिको सिफारिस भएको थियो।
उक्त सिफारिस असंवैधानिक भएको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले आइतबार फिर्ता पठाइदिएका थिए। राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले भने सापकोटाको उक्त कदमप्रति आपत्ति जनाएका छन्।
मंसिर ३० गतेको नियुक्ति सिफारिस अन्योलमा परेका बेला प्रधानमन्त्री ओलीले बुधबारका लागि बैठक डाकेका हुन्।
प्रतिनिधिसभा नभएका बेला बैठक डाक्नु असंवैधानिक भएको भन्दै नेकपाको दाहाल–नेपाल समूहले आपत्ति जनाएको छ। संसद् नभएका बेला डाकिएका बैठक औचित्यहीन भएको दाहाल–नेपाल समूहका नेता लीलामणि पोखरेलले बताए।
उक्त नियुक्तिको सिफारिसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ।