शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लुम्बिनीमा कोरोनाविरुद्धको खोप अभियान : मन्त्रीको निर्देशनपछि बल्ल गति बढ्यो

लुम्बिनीमा कोरोनाविरुद्धको खोप अभियान : मन्त्रीको निर्देशनपछि बल्ल गति बढ्यो

गत शनिबार स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको निरीक्षण गरे। मन्त्री त्रिपाठीसँगै  लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्रालय र स्वास्थ्य निर्देशनालयका कर्मचारी पनि थिए। 
 |  मंगलबार, माघ २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २०, २०७७

बुटवल– गत शनिबार स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको निरीक्षण गरे। मन्त्री त्रिपाठीसँगै  लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्रालय र स्वास्थ्य निर्देशनालयका कर्मचारी पनि थिए। 

मन्त्री त्रिपाठीले अस्पतालको निरीक्षणसँगै कोरोनाविरुद्धको खोप कार्यान्वयनमा चासो देखाए। अस्पताल परिसरबाटै केही जिल्लामा फोन गरे। फोनमा उनले जिल्लामा कोरोनाविरुद्धको खोप कार्यान्वयन नभएको जानकारी पाए। त्यसलगत्तै मन्त्री त्रिपाठी प्रदेशका कर्मचारीसँग जंगिए–कर्णाली प्रदेशले सबै जिल्लामा खोप पुर्‍याएर कार्यान्वयन गरिसक्यो, तपाईंहरु किन ढिलो ? तुरुन्त काम गर्नुस्।’ 

कोरोनाविरुद्धको खोप माघ १४ गतेदेखि सुरु भएकोमा १७ गतेसम्म पनि रुकुम र रोल्पामा खोप नै नपुुगेको जानकारी पाएपछि मन्त्री आक्रोशित बनेका थिए। यसले लुम्बिनी प्रदेशमा कोरोना विरुद्धको खोप कार्यान्वयनको गति ढिलो भएको पुष्टि हुन्छ। 

भारत सरकारले उपलब्ध गराएको १० लाखमध्ये ३९ हजार ४९५ जनाको लागि ८७ हजार ६ सय ७९ डोज लुम्बिनी प्रदेशमा ल्याइएको छ। संघीय मन्त्रीले कोरोनाविरुद्धको खोप कार्यान्वयनको गति बढाउन निर्देशन दिएपछि लुम्बिनी प्रदेशले गति बढाउन थालेको छ।

लुम्बिनीमा पहिलो दिन माघ १४ गते ७१४ जनामा मात्रै कोरोना खोप दिइएको थियो। बाँके, बर्दिया, दाङ, रुपन्देही, नवलपरासी र कपिलबस्तु गरी प्रदेशका ६ जिल्लामा मात्रै कोरोना खोप दिइएको थियो।

अहिले भने प्रदेशका १२ वटै जिल्लामा कोरोना खोप सुरु गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. पुुष्पराज पौडेलले सरकारले नै खोपलाई ऐच्छिक गराएकाले शुरुका दिनमा कार्यान्वयनको गति कम भएको बताए। 

कोरोना महामारीका हिसाबले लुम्बिनी प्रदेश जोखिमयुक्त प्रदेशमै पर्छ। हालसम्म २७ हजार कोरोना संक्रमित भएका छन् भने ३९१ जनाको मृत्यु भएको छ। प्रदेशको जोखिमलाई नै हेरेर लुम्बिनीमा ३९ हजार ४९५ जनाको लागि ८७ हजार ६७९ डोज खोप ल्याइएको थियो। हालसम्म १५ हजार ५२४ जनालाई १५ हजार ६ सय डोज खोप दिइएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नेत्रलाल अर्यालले जानकारी दिए। 

उनका अनुसार सुरुका दिनमा कोरोना खोपको डोज संख्या कम भए पनि दैनिक रुपमा यो संख्या वृद्धि भएको छ। सोमबारमात्रै ३ हजार ६२९ जनालाई खोप दिइयो।

लुम्बिनीमा २५ वटा खोप केन्द्रमार्फत् कोरोना विरुद्धको खोप दिइएको छ। १२ जिल्लामध्ये सबैभन्दा धेरै रुपन्देहीमा ३ हजार ४४० डोज खोप दिइएको छ। त्यसपछि बाँकेमा २ हजार ७८१, दाङमा १ हजार ७२० डोज दिइएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

कपिलवस्तुमा १ हजार १००, बर्दियामा १ हजार १७०, नवलपरासीमा ६४०, अर्घाखाँचीमा ८८०, पाल्पामा १ हजार ७२०, गुल्मीमा ६७०, रुकुममा १८०, रोल्पामा ५२० र प्यूठानमा ६५० डोज दिइएको छ।  

सरकारले पहिलो चरणमा ल्याएको कोरोना विरुद्धको खोपको प्राथमिक सूचीमा स्वास्थ्यकर्मी, शव व्यवस्थापक, सफाइकर्मीलाई राखेको छ। लु्म्बिनी प्रदेशमा पनि संघीय सरकारले बनाएको मापदण्डअनुसार नै खोप दिइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

अहिलेसम्म खोप दिइएकामध्ये सबैभन्दा धेरै फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीलाई कोरोना विरुद्धको खोप दिइएको छ। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले पहिलो खोप लगाएर खोप अभियानको शुरुवात भएको थियो।

प्रदेशमा हालसम्म दिइएका खोपमध्ये ५२.४ प्रतिशत स्वास्थ्यकर्मीले खोप लगाएका छन्। यसैगरी १३.३ प्रतिशत स्वास्थ्य संस्थाका अन्य कर्मचारी, २७ प्रतिशत महिला स्वास्थ्य स्वयंसेविका, ३.७ प्रतिशत पालिकाका सरसफाइकर्मी र २.१ प्रतिशत शव व्यवस्थापक तथा सुरक्षाकर्मीलाई खोप दिइएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

पहिलो चरणको खोप अभियान माघ २८ सम्म सञ्चालन हुने र त्यसपछि दोस्रो चरणका लागि प्रक्रिया शुरु हुने सरकारले जनाएको छ।
 

प्रकाशित: Feb 02, 2021| 06:14 मंगलबार, माघ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।