काठमाडौं - नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालविरुद्धको अवहेलनासम्बन्धी मुद्दा न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासमा तोकिएको छ।
आइतबार अधिवक्ता समीर हायुले दाहालविरुद्ध अवहेलना मुद्दा दर्ता गरेका थिए।
विराटनगरमा आयोजित पार्टीको विरोधसभामा दाहालले अदालतले फैसला नगरे जनताको अदालतबाट भए पनि फैसला गर्ने भन्दै अभिव्यक्ति दिएका थिए।
दाहालले यसअघि पनि पटक-पटक कार्यक्रमहरूमा अदालत र न्यायाधीशहरूलाई लक्षित गरेर अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध रिट परेको हो।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व सभामुख दमननाथ ढुंगाना, पूर्व चार प्रधानन्यायाधीश मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ, अनुपराज शर्मा र सुशीला कार्कीविरुद्ध पनि अवहेलनासम्बन्धी मुद्दा दर्ता भइसकेको छ।
उक्त अवहेलना मुद्दामा न्यायाधीश डा. मनोजकुमार शर्माकै इजलासले सात दिनभित्र आफैं अदालतमा उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश गरिसकेको छ।