काठमाडौं- सरकारले विश्वको दोस्रो अग्लो हिमाल ‘माउन्ट केटु’ को सफल आरोहण गरी कीर्तिमान कायम गर्ने निर्मल पुर्जा (निम्स) सहित १० आरोहीलाई सम्मान गरेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार कीर्तिमानी आरोहीलाई सम्मान गरेको हो।
दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ९ कार्यालयले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरी आरोहीलाई सम्मान गरिएको हो।
सो अवसरमा सञ्चारमन्त्री पार्वत गुरुङले सम्मान–पत्रसहित माउन्ट केटु आरोहण गर्ने कीर्तिमानी आरोहीलाई सम्मान गरे। उनीहरुलाई गौरीशंकर ९ कार्यालयले पनि छुट्टै सम्मानपत्र दिई सम्मान गरेको छ।
सम्मानित हुनेमा पुर्जासँगै मिङ्माग्याल्जेन शेर्पा, मिङ्माडेबिड शेर्पा, मिङ्मातेञ्जिङ शेर्पा, पेमाछिरी शेर्पा, दावा शेर्पा, किलु शेर्पा, मिङ्मा जी, दावातेञ्जिङ शेर्पा र सोनु शेर्पा छन्।
उनीहरुमध्ये सोनु शेर्पा आरोहणका क्रममा पाकिस्तानमा रहेकाले उपस्थित भइनन्। पाकिस्तान र चीनको सिमानामा रहेको केटु हिमाल (८,६११ मिटर) १० नेपाली आरोहीले माघ ३ गते स्थानीय समय अनुसार साँझ ५ः१५ बजे आरोहण गरेका थिए।
सो अवसरमा सरकारका प्रवक्ता गुरुङले विश्वकै जोखिमयुक्त हिमाल केटुको सफल आरोहण गरेर नेपाली आरोहीले सिङ्गो देशको गौरव बढाएको बताए।