विराटनगर– झापाको दमकका एक व्यक्तिको मृत्यु भएको २ दिन बितिसक्दा पनि अस्पतालले शव दिन मानेको छैन।
प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमक ८ का ४८ वर्षीय सुरज बुढाथोकीको नोबेल अस्पताल विराटनगरमा आइतबार बिहान मृत्यु भएको थियो। सामान्य अवस्थाका बुढाथोकी परिवारले सुरजको उपचारमा लागेको १ लाख ५० हजार बुझाउन नसक्दा अस्पतालले शव दिन अस्वीकार गरेको हो।
उपचारवापत लागेकोमध्ये ३ लाख, शल्यक्रिया खर्च भनेर ७२ हजार र औषधिवापतको दुई लाख गरेर पाँच लाख ७५ हजार रुपैयाँ मृतकको परिवारले अस्पताललाई बुझाइसकेको छ। १ लाख ५० हजार रुपैयाँ तिर्न बाँकी हुँदा अस्पतालले शव नदिएको मृतककी छोरी सुजनाले बताइन्।
गत माघ २ गते अचानक बेहोस भएर ढलेपछि दमकस्थित लाइफलाइन अस्पताल हुँदै बुढाथोकीलाई थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको थियो। उच्च रक्तचापको समस्याका कारण टाउकोमा रगत जमेर नसामा समस्या भएको हुनसक्ने बताउँदै चिकित्सकले भेन्टिलेटरमा राखेको पाँच दिनपछि शल्यक्रिया गर्नुपर्ने सुझाव दिएका थिए। शल्यक्रिया गरेको १२ दिनपछि बुढाथोकीको मृत्यु भएको हो।
पारिवारिक आर्थिक अवस्था कमजोर भएका कारण ऋण खोजेर, चन्दा संकलन गरेर र छरछिमेकीबाट सहयोग जुटाएर ल्याएको रकमले बुवालाई उपचारका लागि अस्पताल भर्ना गरिएको सुजनाको भनाइ छ।
बुढाथोकीले भाडाको सफारी चलाएर चार जनाको परिवार धान्दै आएका थिए। बाँकी पैसा तिर्नसक्ने अवस्था नभएको जानकारी अस्पताललाई दिए पनि शव बन्धक बनाएर राख्दा बुवाको अन्त्येष्टि गरेर मृत्यु संस्कारपछिको काम गर्न नपाइएको गुनासो सुजनाको छ।
उनका अनुसार अस्पतालले उपचारवापत बाँकी रहेको पैसा तिर्नु, अनि शव लैजानु, नभए दिँदैनौं भनेर भनिरहेको छ।
नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले परिवारकै सहमतिमा उपचार थालिएका कारण बिरामीको मृत्यु भए पनि उपचारवापत लागेको रकम भने अस्पताललाई तिर्नुपर्ने बताए।