बुटवल- नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले सर्वसत्तावाद लाद्न ओलीले संविधान कुल्चेर प्रतिनिधि सभाको हत्या गरेको आरोप लगाएका छन्।
खाँणले संविधानका कुनै धारा, दफा, उपदफा नै उल्लेख नगरी प्रधानमन्त्री ओलीले सनकको भरमा संसद विघटन गरेको बताए।
कांग्रेसका भातृ संगठनहरुले सोमबार रुपन्देहीको भलवारीमा गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता खाँणले संसद विघटनमा सर्वोच्च अदालतले संविधानसम्मत न्याय गर्ने बताए।
अदालतले गरेका कतिपय निर्णयलाई विगतमा जनताले अस्वीकार गरेका दृष्टान्त प्रस्तुत गर्दै नेता खाँणले संविधानलाई चुनौती दिएर गरिने निर्णयलाई जनताले शीर निहुँर्याएर लुरुलुरु स्वीकार नगर्ने उनले बताए।
‘संविधानमा जे प्रावधान छ त्योभन्दा बाहिर गएर निर्णय भए जनताले स्वीकार्ने छैनन्’ नेता खाँणले भने, ‘साधारण नागरिकले समेत ओलीले संविधान मिचेको जानकारी छ, सर्वोच्च अदालतलाई प्रधानमन्त्रीको छाँया नबन्न अनुरोध छ।’
संसद विघटनसम्बन्धी प्रस्ताव पास गर्दा राष्ट्रपतिले टेकेको भनिएको धारामा संसद विघटनको कुनै प्राबधान नभएको दाबी उनले दोहोर्याए।
प्रतिगमनविरुद्ध कांग्रेस सडकमा निस्केपछि त्यसलाई परास्त नगर्दासम्म घर नफर्केको भन्दै उनले राणा, राजा जस्तै अब हुत्तिने पालो ओलीको आएको बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य बद्री पाण्डेले ओलीले आफैँलाई राजा सम्झेर नारायणहिटीको अगाडिबाट जनतालाई हुँकार दिन खोजेको बताए।
‘७० करोडको घुसका लागि बार्गेनिङ गर्ने गोकुल बाँस्कोटा, सरकारी जग्गा हडपेका विष्णु पौडेल जस्ता दलाल र भ्रष्टहरुको छत्रछायामा हिड्ने ओली इतिहासकै भ्रष्ट र निरंकुश प्रधानमन्त्री भनेर कहलिने छन्।’ खाँणले भने।
नेता भरतकुमार शाहले अदालतले न्यायीक फैसला दिन नसके सडकबाटै संसद पुनर्स्थापना गरी निर्वाचनमा जाने बताए।
नेपाली कांग्रेसका भातृ संगठनहरुले सोमबार रुपन्देहीको भलवारीमा संसद विघटनविरुद्ध प्रदर्शन तथा विरोध सभा गरे।