बुटवल- लुम्बिनी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट हालसम्म ३९१ जनाको मृत्यु भएको छ।
कोरोना संक्रमणपछि प्रदेशका विभिन्न अस्पतालमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो। मृत्यु हुनेमा २७५ जना पुरुष र ११६ जना महिला छन्। मृतकमध्ये ३ जना भने कोरोनापछि आत्महत्या गरेकाहरु रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
सबैभन्दा धेरै रुपन्देही जिल्लामा १४४ जना कोरोना संक्रमणबाट मृत्यु भएका छन्। त्यसपछि बाँके ५५, दाङ ४७, नवलपरासी (पश्चिम) ३३, पाल्पा ३५, कपिलबस्तु २६, गुल्मी १२, अर्घाखाँची १०, प्युठान ६ र रोल्पा ४ जनाको मृत्यु भएको छ। लुम्बिनीका १२ जिल्लामध्ये रुकुम पूर्वमा भने एक जनाको पनि मृत्यु भएको छैन।
पछिल्ला केही दिनयता भने कोरोना संक्रमणमा नै कमी आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार हाल लुम्बिनी प्रदेशमा ४६४ जना मात्रै उपचारमा रहेका छन्।
१२ जिल्लामा २७ हजार ११० जना कोरोना संक्रमितमध्ये २६ हजार २५२ जना निको भएको तथ्यांक छ। कोरोनाविरुद्धको खोपसमेत दिन थालिएकाले यहाँ कोरोना संक्रमितको संख्यामा समेत कमी आएको छ।