बुटवल- लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका नेता शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' एमाले फुटाउने काममा लागेको आरोप लगाएका छन्। सोमबार बुटवलमा आयोजित बुटवलमा जिउँदा जीवराज नामक वृत्तचित्रको सोमबार सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री पोखरेलले यस्तो आरोप लगाएका हुन्।
'एमालेभित्रको अन्तर्विरोधमा खेलेर एमाले फुटाउने काममा प्रचण्ड लागेका छन्,' उनको भनाइ थियो। तर जति फुटाए पनि आफ्नो पार्टी जहिलो पहिलो शक्ति भएको उनको भनाइ थियो। 'अहिलेपनि एमाले पहिलो शक्ति छ। भोलि पनि पहिलो शक्ति हुनेछ,' उनको दाबी छ।
प्रचण्ड अवसरवादी र महत्त्वाकांक्षी भएको समेत उनले आरोप लगाए। 'प्रचण्डको अवसरवादी र महत्त्वाकांक्षी स्वभावले गर्दा समस्या सिर्जना भएको हो। अब प्रचण्ड विना कम्युनिस्ट पार्टी एक हुनुपर्छ,' उनले भने, 'प्रचण्ड अवसरवाद, अस्थिरता र महत्त्वाकांक्षाको सम्मिश्रण हुन्। अहिलेको अस्थिरताको कारक उनका स्वभाव हुन्।' प्रचण्डको उक्त स्वभावका कारण नै माओवादीका नेता तथा कार्यकर्ताहरू एमाले प्रवेश गरेको दाबी गरे।
पछिल्लो तिन चार वर्षमा संघ, प्रदेश र स्थानीय सरकारका माध्यमबाट तयार गरिएका विकासका आधारशिला पूरा गर्न सके प्रचण्डबिनाको वामपन्थी एकता कायम गर्न सकिने उनले बताएका थिए।