जनकपुरधाम- प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस तथा देशको विकासको संकल्प लिएर अगाडि बढिरहेको बताएका छन्।
आफूविरुद्ध मधेस विरोधी रहेको हल्ला फैलाइएको भन्दै ओलीले आफू मधेस विकासको अठोटका साथ अगाडि बढिरहेको बताए।
धनुषाको ढल्केवरमा मुलुककै सबैभन्दा बढी क्षमताको विद्युत् सबस्टेसन उद्घाटनपछि प्रधानमन्त्री ओलीले आफू मधेसको विकास र समृद्धिको पक्षमा रहेको दाबी गरे।
उनले भने, मलाई मधेसविरोधीको रुपमा यहाँ चित्रण गरिएको छ, मलाई मधेस विरोधी भन्नेहरुलाई चुनौती दिन चाहन्छु, मैले जति गरेको विकास मधेसमा गरेर देखाउनुस्।’
उनले अगाडि भने, ‘आफूलाई मधेस विरोधी भन्ने नेताहरुले डुमको छोरा वा चमारको छोरालाई काँधमा बोकेर हिँडेको देख्नुभएको छ? मधेसप्रेमी हुनुहुन्छ भने काँधमा उठाएर देखाउनुस्।’ खोक्रा नारा लगाएर हुँदैन, काम गरेर देखाउनु पर्छ प्रधानमन्त्री ओलीले भने।
‘मधेसका सडकहरु अस्तव्यस्त थिए, ढल थिएन कसले निर्माण गर्न रोक्याथ्यो र ? उनले भने, ‘मधेस विरोधी केपी ओलीलाई भन्ने अनि बाटो ओलीले बनाइदिने, ढल ओलीले बनाइदिने, हामी मधेसको विकास गरेर देखाउँछौँ।’
मधेसको विकासका लागि कृषि आधुनिकिकरणमा सरकारले जोड दिएको बताउँदै ओलीले खेत खेतमा सिँचाइ सुविधा पुर्याउन कोसीको पानी तराई झार्दै छौँ। उनले भने ‘खेत खेतमा सिँचाइको सुविधाका लागि पहाड छेडेर कोशी नदीलाई मधेसमा ल्याइँदै छ।’
अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले चुनावको मिति एक दिन पनि पर नसर्ने दाबी गरेका छन्। प्रतिनिधिसभा विघटनपछि सरकारले घोषणा गरेकै मितिमा चुनाव हुने दाबी गर्दै उनले चुनावको तयारीमा लाग्न सबैलाई आह्वान गरे। उनले भने ‘तपाईंहरू चुनावको तयारीमा लाग्नुस, मिति एक दिन पनि पछाडि धकेलिँदैन।’
नेकपाको दुई पक्षबीचको विवादलाई लिएर प्रधानमन्त्री ओलीले ३ करोड मध्ये २/४ जना जाँदैमा खासै फरक नपर्ने बताए। ‘हामीलाई छोडेर गएकाहरुले पार्टीभित्र उपद्रव मच्चाएका थिए, सरकारको खुट्टा तान्नु बाहेक केही गर्दैन थिए।’ ओलीले भने ‘म त हिँड्छु मेरै बाटो तिमी खुट्टा तान्दै गर।’