काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानन्त्री केपी शर्मा ओलीले निर्वाचन गराउन संसद् भंग नगरेको बताएका छन्।
कांग्रेसका भ्रातृ संस्थाहरुले शान्तिवाटिकामा सोमबार गरेको विरोध सभालाई सम्बोधन गर्दै सिंहले ओलीले आफू तानाशाह बन्नका लागि संसद् विघटन गरेको बताएका हुन्।
‘ओलीले चुनाव गराउन संसद् विघटन गरेका होइनन्। आफू तानाशाह बन्न संसद् भंग गरेका हुन्,’ उनले भने।
ओली सरकारले हुँदै नभएको अधिकारलाई दुरूपयोग गरेर गरेर जनभावना विपरीत संविधान कुल्चिएको सिंहको भनाइ थियो। ओलीले बदनियतपूर्ण तरिकाले लोकतन्त्रलाई प्रहार गरेकोले कांग्रेस सडकमा उत्रिएको उनले बताए।
‘संविधानलाई मिचेर अहिले चुनावको ललिपप देखाइएको छ। भएको संविधान मिच्ने अनि अन्तर्राष्ट्रिय प्रयास यही छ भनेर पाठ सिकाउँदै ओली हिँडिरहेका छन्,’ उनले भने, ‘प्रतिनिधि सभा फेस गर्ने साहस नभएकाले उनले जनता छक्काएका हुन्।’
ओलीको कदमलाई न्यायपालिकाले सच्चाउने सिंहले विश्वास व्यक्त गरे। ‘अहिले हल्ला छ गरिएको छ। ओलीले अदालतसँग सेटिङ गरे। तर मलाई विश्वास छm न्यायपालिकाले शाही आयोगमा गरेको जस्तै निर्णय अहिले पनि गर्नेछ,’ उनले भने।
सिंहले ओली ज्ञानेन्द्र पथमा रहेको आरोपसमेत लगाएका छन्। उनले जनताले पाँच वर्षलाई दिएको म्यान्डेट लत्याएको भन्दै नेकपा कम्युनिस्ट पार्टी नभएर कमाउनिस्ट पार्टी भएको बताए।