विराटनगर- प्रदेश १ मा कुष्ठरोगी घटेका छन्। गत वर्षको तुलनामा ८९ जना कुष्ठरोगी घटेको प्रदेश स्वास्थ्य निर्देशनालय, धनकुटाले जनाएको छ।
गत वर्ष ४१२ जना कुष्ठरोगी थिए। चालू आर्थिक वर्षको मंसिर मशान्तसम्ममा ३२३ जना कुष्ठरोगी रहेको स्वास्थ्य निर्देशनालयकी जनस्वास्थ्य निरीक्षक तारा सुवेदीले जानकारी दिइन्।
उनका अनुसार प्रदेश १ मा ४ जिल्लामा मात्र कुष्ठरोगी भेटिएका छन्। झापामा सबैभन्दा बढी १४० जना कुष्ठरोगी रहेको सुवेदीले बताइन्। मोरङमा ११३, सुनसरीमा ६७ र उदयपुरमा ३ जना कुष्ठरोगी रहेको सुवेदीको भनाइ छ।
प्रदेश १ मा कुष्ठरोग नियन्त्रण हुँदै गएको जनस्वास्थ्य निरीक्षक सुवेदीले बताइन्। कुष्ठरोग न्यूनिकरणका लागि बिरामीको सम्पर्कमा रहेकाहरुलाई औषधि दिने गरिएको उनको भनाइ छ।
सन् २०३५ भित्रमा कुष्ठरोग निवारण गर्ने सरकारको लक्ष्य रहेको सुवेदीले बताइन्।